- उद्धव पुरी
झापा ।
गत मंसीरमा काम गरेर इटहरीबाट घर फर्कने क्रममा सवारी दुर्घटनामा परेकी मोरङको सुन्दरहरैंचा नगरपालिका १ की ४२ बर्षिया धनमाया बिष्ट कम्बरदेखि मुनि भाग नचल्ने भएपछि उनका छोराछोरीको पालनपोषण तथा पठन–पाठनमा समस्या भएको छ । उनी काम गरेर ट्याक्टरको डालामा बसेर घर फर्कने क्रममा उछिट्एर लडेकी थिइन् ।
केही समय अघिनै श्रीमान गुमाएकी बिष्ट इटहरीको एक होटलमा काम गर्दै आएकी थिइन् । होटलमा काम गरेर एक छोरा र एक छोरीको शिक्षादिक्षा तथा पालनपोषण गर्दै आएकी उनी थला परेपछि छोराछोरी बिचल्लीमा परेका छन् । अहिले उनी ओछ्यानबाट समेत उठ्न नसक्ने अवस्था छिन् ।
उनकी १४ बर्षिया छोरी तुलसा कक्षा १० र १३ बर्षिय छोरा तीर्थ कक्षा ८ मा जनता माबि सुन्दरहरैंचा –१ स्थित पञ्चाममा अध्ययनरत रहेका छन् । आमा बिरामी भएसँगै उनीहरुको पठन–पाठनमा समेत असर परेको हो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिराटचोक सेवा केन्द्र अन्तरगतको नवरत्न सहारा महिला समुह नम्बर ११४ की सदस्य समेत रहेकी बिष्टलाई अस्पतालले समेत उपचार सम्भब नहुने भन्दै बिदा दिइसकेको जनाइएको छ । उनी उक्त समुहमा २०७२ पुस ९ गतेदेखि आवद्ध रहँदै आएकी सेवा केन्द्र प्रमुख मोतीखर सञ्जेलले जानकारी दिए ।
अति विपन्न बिष्ट अहिले ओछ्यानबाट उठ्न नसक्ने भएपछि मजदुरी गरेर जिविको पार्जन गर्दै आएकी उनको कन्तबिजोग भएको छ । ‘छोराछोरी सानै छन्’ बिष्ट भन्छिन् ‘म ओछ्यानबाट उठ्न सक्दिन, छोराछोरी स्कुलबाट नआउन्जेल दिशापिसाव ओछ्यानमै गर्न बाध्य छु ।’ दिनभर कमाएको ज्यालाले बेलुका सामान किनेर खाने गरेको उनले बताइन् । तर, अहिले उनी ओछ्यानमा परेपछि छोराछोरीको पठन–पाठन र दैनिकी चलाउन समस्या भएको छ । साढे २ कठ्ठा जग्गा मात्र रहेको उनले घर निर्माण गर्न समुहबाट लिएको २ लाख रुपैयाँ ऋण समेत रहेको बताइएको छ ।
सहारा साकोस सेवा केन्द्रले उनको समस्या देखेर गत मंगलबार खाद्यन्न सहयोग गरेको सेवा केन्द्र प्रमुख सञ्जेलले बताए । उनका अनुसार खाद्यन्न अन्तरगत ५० केजी चामल, ५ केजी दाल, ५ लिटर खानेतेल, ३ केजी कपडा धुने पाउडर, ४ वटा नुहाउने सावुन, एक दर्जन बिष्कुट, कम्बोट कुर्सी र डस्विन, टेबल पंखा र हर्लिक्सलगायतका सामाग्री प्रदान गरिएको छ ।
खाद्यन्न हस्तान्तरण कार्यक्रममा सहारा साकोस सेवा केन्द्र सञ्चालन समितिका संयोजक चिरञ्जीबी रेग्मी तथा सदस्य, सलकपुर अनुगमन कार्यालय अनुगमन प्रमुख महेश तामाङ, सुन्टर हरैचा नगरपालिका १ का वडाध्यक्ष रामकुमार विश्वास तथा वडा सदस्यलगायतको उपस्थिति रहेको थियो । खाद्यन्न हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष विश्वासले वडा कार्यालयका तर्फबाट हुन सक्नेसम्मको सहयोग बिष्ट परिवारलाई गर्ने समेत प्रतिवद्धता गरेका छन् ।