हल्दिबारी । 

झापा हल्दिबारी गाउँपालिका वडा नम्बर ३ मा रहेको रामेश्वर प्राथमिक बिद्यालयको नव निर्मित ४ कोठे भवनको उद्घाटन भएको छ । भवनको उद्घाटन निवर्तमान उप–प्रधान जलस्रोत तथा ऊर्जामन्त्री राजेन्द्रप्रसाद लिङदेनले बुधबार गरेका हुन् ।

तराई मधेस विकास कार्यक्रम अन्तर्गत  अघिल्लो वर्ष हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बर गिरीको पहलमा उक्त बजेट बिनियोजन भएको थियो। २५ लाख २७ हजार २६० रूपैयाँ ७१ पैसाको लागतमा ४ कोठे भवन निर्माण गरिएको हो।

२०८० बैशाख २५ गते निमार्ण सम्पन्न गर्ने गरी एन्जेलिना कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि सिराहाले २०७९ कार्तिक २९ मा हल्दिबारी गाउँपालिकासँग सम्झौता गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष यशोदा भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान उपप्रधानमन्त्री, निवर्तमान जलस्रोत तथा ऊर्जा मन्त्री लिङदेन, विशेष अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाध्यक्षहरू क्रमशः विष्णु ओली, सन्तकुमार थापा, देवीबहादुर थापा, कार्यपालिका सदस्यहरू, निमित्त प्रमुख राजन न्यौपाने, शिक्षा शाखा प्रमुख जनककुमारी राई लगायत जग्गा दाताका परिवार तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, प्रतिनिधिहरू, अविभावक तथा विधार्थीहरू, सरोकारवाला निकायहरुका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका जग्गा दाता चिनीमाया गुरूङ र रामेश्वर गुरूङ लाई मरणोपरान्त सम्मान गरिएको थियो भने पूर्व व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर तेन्युङ, धनबहादुर सांवा, त्यसैगरी पूर्वप्रधानाध्यापक सिता बिमली साथै समाजसेवी मेची प्रादेशिक अस्पताल पोषण पुर्नस्थापना केन्द्र कि प्रवन्धक मेची गंगा लिम्बुलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा अविभावकको हौसला बढाउन उत्कृष्ट अविभावक पुरस्कार देवका उप्रेती लाई प्रदान गरिएको थियो भने उत्कृष्ट शिक्षक पुरस्कार होमकुमारी खडका बोहोरालाई दिइएको थियो। कार्यक्रमको संचालन प्रधानध्यापक मेनका शर्मा दाहालले गरेकी थिइन्।