भद्रपुर ।
राष्ट्रिय जनगणना २०७८ अनुसार झापामा ९ लाख ९८ हजार ५४ जना जनसंख्या पुगेको छ । २०७८ को जनगणना अनुसार झापामा १ लाख ८५ हजार ४०४ जनसंख्या बृद्धि भएको तथ्याङ्क कार्यालय मोरङले सार्वजनिक गरेको छ ।
राष्ट्रिय जनगणना २०६८ मा भएको जनगणना अनुसार झापाको जनसंख्या ८ लाख १२ हजार ६५० जना रहेको थियो । झापाको भद्रपुरमा मंगलबार भएको जिल्ला स्तरीय नतिजा सार्वजविककरण कार्यक्रममा तथ्याङ्क कार्यालय मोरङले सो जनसंख्याको तथ्याङ्क सार्वजनिक गरेको हो ।
जसमा ४ लाख ७८ हजार ५०९ पुरुष र ५ लाख १९ हजार ५४५ जना महिला रहेको तथ्याङक सार्वजनिक भएको छ । तथ्याङ्क कार्यालय मोरङको आयोजनामा भएको जिल्ला स्तरीय नतिजा सार्वजविककरण कार्यक्रम अनुसार झापामा २ लाख ४५ हजार १४२ परिवार संख्या रहेको जनाइएको हो ।
राष्ट्रिय तथ्याङ्क विभागका अनुसार देशभर १ सय ४२ जातजाति मध्ये झापामा १ सय ११ जातिको बसोबास रहेको तथा कोशी प्रदेशमा १ सय ३० जातजातिको बसोबास रहेको छ ।
झापामा ५६ प्रतिशत कृषि पेशामा आवद्ध रहेका छन् भने झापाका ९१ हजार ३१४ जना बिदेशमा रहेकोलगायतका बिबिध तथ्याङकका बारेमा जानकारी दिइएको थियो । झापामा बस्दै आएका मध्ये ७७ जातिले आफ्नो मातृभाषा बोल्ने गरेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख विश्वनाथ बराल, एसपी दुर्गाराज रेग्मीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण तथ्याङ्क कार्यालय मोरङका निर्देशक तथा कार्यक्रम प्रमुख तीर्थराज बरालले गरेको तथ्याङ्क कार्यालय मोरङका सुपरिवेक्षक जनकबाबु काफ्लेले बताए ।
नेपालको राष्ट्रिय जनगणना २०६८ मा २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको जनसंख्या २०७८ को जनगणना अनुसार २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ ।