झापा ।
सरकारी बिद्यालयका कर्मचारीहरुको संगठन नेपाल बिद्यालय कर्मचारी परिषद झापा आन्दोलित भएको छ । परिषद झापामा आवद्ध कर्मचारीहरुले गत जेठ २१ गतेदेखि निरन्तर रुपमा शिक्षा विकास तथा समन्वय इकाई भद्रपुर झापामा धर्ना दिइरहेको छन् ।
नेपाल बिद्यालय कर्मचारी राष्ट्रिय परिषदले गत जेठ १७ गते गरेको देशब्यापी आन्दोलनको निर्णय तथा निर्देशन अनुसार झापामा पनि परिषद आन्दोलित बनेको हो । परिषद झापाले गत जेठ २१ गतेदेखि निरन्तर रुपमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई झापामा धर्ना कार्यक्रम जारी राखेको परिषद झापा अध्यक्ष चन्द्रप्रसाद प्रसाईले जानकारी दिए ।
भोली शुक्रवार धर्ना कार्यक्रम सम्पन्न हुने र राष्ट्रिय परिषदले जेठ २८ गते काठमाडौंको माइतीघरस्थित भद्रकालीमा आयोजना गर्ने रिले अनशनमा प्रतिनिधित्व गर्ने अध्यक्ष प्रसाईले बताए । असार १ गतेसम्म पनि माग पूरा नभएका ३ गतेदेखि देशभरका सरकारी बिद्यालय बन्द गरिनेलगायतका आन्दोलनका कार्यक्रमहरु रहेको अध्यक्ष प्रसाईले बताएका छन् ।
परिषदमा आवद्ध कर्मचारीहरुले शिक्षा ऐन लागू गर्नु पर्ने तथा सरकारी बिद्यालयका कर्मचारीको दरबन्दी ब्यवस्था हुनुपर्ने, निजामति कर्मचारी सरहको सेवासुबिधा उपलब्ध गराउनु पर्ने, ६० बर्ष माथि उमेर समुहका कर्मचारीहरुलाई न्यूनतम शिक्षक वा निजामति कर्मचारी सरह न्योचित उपदान दिनुपर्नेलगायतका माग राख्दै देशब्यापी आन्दोलन गरिरहेका परिषद झापा पूर्व सदस्य अम्बरबहादुर राउतले जानकारी दिएका छन् ।