हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाले १९ लाख ८७ हजार ४२१ रुपैयाँ खाजा र खानामा खर्च गरेको पाइएको छ । हल्दिबारी गाउँपालिकाले विभिन्न पक्षसँग मिलेमतो गरी आर्थिक वर्ष २०७८/७९ मा मात्रै विविध र खाना÷खाजामा उक्त रूपैयाँ खर्च गरेको पाइएको हो । 

महालेखापरीक्षकको कार्यालयले हल्दिबारीमा भएको विविध र खाजावापतको सो खर्च अस्वाभाविक भएको र सरकारको आर्थिक मितव्ययिता नीतिविपरीत मनपरी खर्च गरेको ठहर गरेको छ । 

हल्दिबारी गाउँपालिकाले विविध र खाजामा गरेको खर्च नेपाल सरकारले जारी गरेको सार्वजनिक खर्चमा मितव्ययिता कायमसम्बन्धी मापदण्ड–२०७७ को दफा ३ विपरीत रहेको महालेखाले स्पष्ट पारेको छ । 

जसअनुसार सार्वजनिक निकाय तथा सार्वजनिक पदधारण गरेको व्यक्तिले सरकारी कामको सिलसिलामा खर्च गर्दा कार्यालय सामान, मसलन्द, पानी, बिजुली, इन्धन तथा विविध खर्चलगायतका शीर्षकमा मितव्ययिता कायम हुनेगरी खर्च गर्नुपर्ने व्यवस्था छ । तर, हल्दिबारी गाउँपालिकाले सो प्रावधानलाई बेवास्ता गर्दै विविध र खाजा खर्चमा धेरै रकम खर्च भएको छ । महालेखाले विविध र खाजा खर्चमा अस्वाभाविक खर्च भएको भन्दै हल्दिबारी गाउँपालिकाप्रति आपत्ति जनाएको छ ।

महालेखाको सो आपत्तिसँगै उक्त खर्च के कुन कार्यक्रमसँग सम्बन्धित हो नखुलेको  जनाएको छ । उक्त खर्चको बिल र उक्त खर्च के कुन कार्यक्रमसंग सम्बन्धित हो पुष्टी हुने कागजात र  उपस्थिति लगायतका प्रमाण संलग्न नभएको जनाएको छ । यस्तो खर्चमा नियन्त्रण गरी मितव्ययिता कायम गर्नुपर्दछ महालेखापरीक्षकले सार्वजनिक गरेको २०७९ बार्षिक प्रतिवेदनको क्रम संख्या १६ तथा पेज नम्बर २६ उल्लेख छ । 

यस्तो छ महालेखापरिक्षक २०७९ को बार्षिक प्रतेवदनमा : 

mahalekha