इलाम । 

इलामको रोङ गाउँपालिका– ३ मा रहेको पाथीभरा मन्दिरमा पाँच वर्षमा संकलन भएको भेटी हरहिसाब विषयमा गाउँपालिकाले लिएको अडानप्रति रोङका राजनीतिक दलहरूले समर्थन गरेका छन् । 

पाथीभरा संरक्षण संस्थाले पाँच वर्षमा करिब १५ करोड बढी हिसाब गोलमाल गरेको भन्दै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई छानबिन गर्न पत्र लेखेको थियो । तर, जिल्ला प्रशासन कार्यालयले उल्टै असहयोग गरेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले जानकारी दिए । 

अनियमितता छानबिन गर्न सर्वदलीय बैठकको निर्णयले आग्रह गर्दा प्रशासनले गाउँपालिकालाई छलफलमा बोलाएर असहयोग गरेको गाउँपालिका अध्यक्ष सुवासको आरोप छ ।  गाउँपालिकामा क्रियाशील राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले ज्ञापनपत्र बुझाउँदै गाउँपालिकाले अनियमितताविरुद्ध चालेको कदममा ऐक्यबद्धता जनाएका हुन् । राजनीतिक दलले अनियमितताको सत्यतथ्य बाहिर ल्याउन पनि गाउँपालिकालाई आग्रह गरेका छन् । 

ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष स्याङ्बोले पाथीभरामा भएको आर्थिक अपारदर्शितामाथि गाउँपालिकाले कुनै हालतमा तलमाथि नगर्ने बताए । उनले पाथीभरामा वार्षिक दुईदेखि अढाई लाख धार्मिक पर्यटक आउने गरेको र उनीहरूले दिएको दानलाई अनियमितता हुन नदिने प्रतिवद्धता गरेका छन् । 

गाउँपालिका अध्यक्ष सुवासले पाथीभरा संरक्षण संस्थाले ०७३ देखिको हरहिसाब नदेखाएपछि यकिन हुन नसकेको बताए । उनले संस्थाको ०७३ असारदेखि नवीकरण र साधारणसभा पनि नगरेको जानकारी दिए ।  पाथीभरा संरक्षण संस्था पारदर्शी नभएपछि रोङ गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ जारी गरेर पाथीभरा विकास समितिमार्फत व्यवस्थापन थालेको छ । 

१ फागुनबाट पाथीभरा मन्दिरको जिम्मा लिएसँगै सय दिनमा भेटी बापत ६६ लाख ६१ हजार तीन सय ७८ रुपैयाँ आम्दानी भएको छ । जब कि पाथीभरा संस्थाले पाँच वर्षमा आफ्नो हिसाब सार्वजनिक गरेको छैन ।  यद्यपि, गाउँपालिकाले नियुक्त गरेको लेखा परीक्षणको प्राम्भिक प्रतिवेदनले पाथीभरा संरक्षण संस्थाको १९ महिनाको आम्दानी ४७ लाख मात्रै देखिएको गाउँपालिका अध्यक्ष सुवासले बताए ।

गाउँपालिकाले अर्को विकास समिति बनाएर आफैँ आम्दानी संकलन गरेर गाउँपालिकाको खातामा जम्मा गरेपछि भने उक्त संस्थाले १४ चैतमा संस्थाको नगद तथा जिन्सी सामान बुझिदिन भन्दै गाउँपालिकालाई पत्र लेखेको थियो । तर, गाउँपालिकाले लेखापरीक्षण विना हिसाब नबुझ्ने जवाफ फर्काएको थियो ।  गाउँपालिकाले आफैँ लेखा परीक्षक नियुक्ति गरेर पठाउँदा पनि स्वतन्त्र लेखापरीक्षकलाई असहयोग गरेर पाथीभरा संरक्षण संस्थाले अनियमितता लुकाउन खोजेको अध्यक्ष सुवासको आरोप छ ।

यता सानो पाथीभरा नामले चिनिएको पाथीभरा मन्दिरमा पाथीभरा संरक्षण संस्थाले पाँच वर्षमा गरेको हिसाबको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति निर्माण गरेको छ । उक्त समितिलाई २५ दिनभित्र प्रतिवेदन तयार गरी पेस गर्न समेत निर्देशन दिइएको छ ।