सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ६ ले एक बर्षको अवधिमा बिभिन्न विकास निर्माणसहित बिद्यार्थीलाई छात्रबृत्ति, किसानलाई उपदानमा कृर्षि सामाग्री बितरणलगायतका कार्य गरेको छ । 

वडाले सडक निर्माण, किसानका लागि अनुदानमा सिचाई बोरिङ, स्प्रे ट्याङ्की बितरण, सामुदायिक बिद्यालयबाट स्नातक अध्ययनरत बिद्यार्थीलाई छात्रबृत्ति, जन्मदर्ता उपहार कार्यक्रम, अन्तिम दाहसंस्कारका लागि घाट र दाउरा निःशुल्क र समवेदना वापत ५ हजार रुपैयाँ, किसानका गाईलाई कृत्रिम गर्भाधानलगायतका कार्य गरेको वडाध्यक्ष दीर्घबहादुर थापालले जानकारी दिए । 

वडाध्यक्ष थापाले बिकास निर्माण कार्यक्रम अन्तरगत मनसा टोल र मात्री बिमली टोलको बाटो १२÷१२ लाख रुपैयाँको लागतमा २३७ मिटर लम्बाई र ४.५ मिटर चौडाई कालोपत्रे गरेको र केम्पाटोलमा ६ लाख रुपैयाँको लागतमा प्लबसहित ब्लक ५० मिटर लम्बाई र १२ फिट चौडाईको कार्य गरेको बताए । त्यस्तै एकता टोल, जागृति टोल, सगरमाथा टोल र भृकुटी एकता टोलबाट जेष्ठ नागरिक भवन पश्चिम २÷२ लाख रुपैयाँको लागतमा बाटो ग्रावेल गरेको र ५ लाख ५० हजार रुपैयाँको लागतमा अन्य बाटाहरु पनि मर्मत सम्भार गरेको उनले बताए । 

वडा कार्यालयले ७५ प्रतिशत अनुदानमा किसानलाई स्प्रे ट्याङकी ६० वटा, सिचाई बोरिङ १४ वटा बितरण गरेको जनाइएको छ । जन्मदर्ता उपहार स्वरुप ३५ दिन भित्रमा जन्मदर्ता गर्न आउनेलाई बच्चाका लागि आवश्यक सामाग्री उपहार दिने गरिएको वडाध्यक्ष थापाले बताए । उक्त वडाका स्तातक तह अध्ययनरत ४० जना बिद्यार्थीलाई केही भए पनि राहत होस भन्न्ने उदेश्यले छात्रबृत्ति प्रदान गरेको समेत उनले जानकारी दिए । 

चम्पापुर माध्यमिक बिद्यालयको स्तरोउन्नतीका लागि ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको उनले बताए । उक्त बिद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाई हुने गरेको साथै बिद्यार्थीको संख्या पनि बढिरहेको वडाध्यक्ष थापाको भनाई छ । अंग्रेजी माध्यम अध्यापन गराउने शिक्षक खर्चका लागि अभिभावकबाट ५० प्रतिशत रकम सहयोगका रुपमा लिने गरेको उनले जानकारी दिए । 

८९ लाख २९ हजार सिलिङ बजेट रहेको वडामा वडाध्यक्ष थापाको पहलमा संघीय र प्रदेश सरकारबाट ३८ लाख बजेट ल्याएर पनि काम गरेको बताए । उक्त वडामा आर्थिक बर्ष २०७९/०८० को जेठ महिनाको २२ गतेसम्म भएको बिकास निर्माण गतिबिधिहरुका बारेमा वडाध्यक्ष थापाले जानकारी दिएका हुन् ।