मेचीनगर ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवासुविधा सम्बोधन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् आन्दोलित भएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ बजेटमा विद्यालयका कर्मचारीलाई सम्बोधन नगरेपछि परिषद्ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । जेठ २१ गतेबाट आन्दोलनमा होमिएको परिषदले सोही दिन देशभरका शिक्षा विकास तथा समन्वय इकाइहरुमा धर्ना दिएको छ ।

कर्मचारी परिषद झापाले पनि विद्यालयको तालाचावी बुझाएर जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएको कर्मचारी परिषद्का मेचीनगर अध्यक्ष हरि कट्टेलले जानकारी दिए । उनका अनुसार झापामा ४९० जना विद्यालय कर्मचारी कार्यरत छन् ।

आन्दोलनको कार्यक्रम अन्तरगत जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाण्डौको भद्रकालीमा रिले अनशन बस्ने तालिका छ । असार २ गतेदेखि माग सम्बोधन नहुन्जेलसम्म सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गरिने परिषदका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद प्रसाईले जानकारी दिए ।