दमक । 

अत्यधिक गर्मिका कारण झापाको दमकमा एकजनाको मृत्यु भएको छ । दमक नगरपालिका वडा नं. ८ का ६७ वर्षीय मोतिराज राई (राई कान्छा) को अधिक गर्मीका कारण मृत्यु भएको बताईएको छ ।

आइतबार दिउँसो राईलाई स्थानीय मकैबारीमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको वडा नं. ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालले बताए । उनी मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए । 

‘अल्कोहल सेवन गरेको र मकैबारीमा लडेपछि उठ्न नसक्दा गर्मीका कारण ज्यान गएको भन्ने बुझिएको छ’ वडाध्यक्ष दाहालले भने ।  खाना खाएर राई घरबाट निस्केको पनि बताईएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाका अनुसार घाँस काट्न जाँदा बारीमा मृत अवस्थामा बृद्धलाई स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।