हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाको पालिका क्षेत्र भित्रमा ‘काठेपुल मुक्त गाउँपालिका’ भन्ने नारा यो वर्ष समेत नारामै सिमित भएको छ । उक्त नारालाई सार्थक तुल्याउन ३ वटा पुल निमार्ण गर्न बाँकि रहेको छ ।

२०७९ मंसिर १४ गते  हल्दिबारी ५ र १ को  सिमानामा पर्ने भुतेनी, हल्दिबारी ३ को भुसुडी खोलाको २ वटा गरी एकैदिन ३ वटा पुलको शिलान्यास राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनले गरेका थिए । उनले चुनाब जितेको घोषणा भएपछि प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गर्नुअघि नै  शिलान्यास गर्न हतारो गरेका थिए ।

झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य लिङदेन, प्रदेशसभा सदस्य छविलाल चुडाल र हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले संयुक्त रुपमा शिलान्यास गरेका ती पुलहरूको निमार्ण कार्यको शिलान्यास भएको ६ महिना बितिसक्दा पनि शुरू हुन सकेको छैन । २ वर्षभित्र कार्य सम्पन्न गर्नेगरी सारा सृष्टी निर्माण सेवा प्रालि धनकुटाले ४ करोड ६७ लाख ९४ हजार ८ सय ६७ रुपैयाँमा सम्झौता गरेको थियो । उद्घाटन गर्दा  तिव्र गतिमा निमार्ण कार्य अघि बढाईने भनेपनि काम भने शुरू समेत गरिएन । गाउँपालिकामा यि ३ वटा पुल निमार्ण कार्य सम्पन्न भएपछि काठेपुल मुक्त पालिका बन्ने छ । 

यता निर्माण कम्पनी सारा सृष्टी निर्माण सेवा प्रालिलाई २०७९ मंसिर १३ गते एपीआईको आधारमा  मोबिलाईजेशन रकम भन्दै २२ लाख रूपैयाँ पालिकाले भुक्तानी गरिसकेको छ । 

हल्दिबारी गाउँपालिकाका पूर्वाधार  निमार्ण समितिका संयोजक सन्तकुमार थापाका अनुसार उक्त पुलको पेटी ठेकेदार हल्दिबारी १ को स्थानीय बासिन्दा भएको र उक्त ठेकेदारले  अहिले जनजागृति माबिबाट किराँतचोक हुँदै लाटीहोलि जोड्ने सडक र चक्ला चोकबाट दक्षिण योगप्रसाद भट्टराईको घर हुँदै रामजानकी मन्दिरसम्म जाने बाटो कालोपत्रे योजनाको काम धमाधम गरिरहेकाले अहिले उक्त पूलहरूको निर्माण शुरू नगरिएको बताए । ‘अब बर्खाको समय नि भयो’ उनले भने ‘आगामी मंसिर, पुसबाट निर्माण कार्यको शुरूवात हुनेछ ।’ निमार्ण शुरू गरेपछि लगातार काम हुने र तोकिएको समयमा नै निर्माण पूरा हुनेमा बिश्वसत रहेको उनले बताए ।