• राजु बराल 

चन्द्रगढी । 

भद्रपुर नगरपालिका सामाजिक बिकास शाखाको आयोजनामा बजेट तर्जुमा सम्बन्धि नगर बाल भेला आज (शुक्रबार) सम्पन्न भएको छ । आर्थिक बर्ष  २०८०/८१ मा भद्रपुर नगरपालिकामा बालबालिकाको क्षेत्रमा सम्पन्न गरिने कार्यक्रमका निम्ति बजेट तर्जुमामा सहजिकरण गर्ने उद्देश्यले उक्त भेलाको आयोजना गरिएको हो ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो नगर बाल भेलामा सहभागि बाल क्लवका प्रतिनिधिलाइ तिन समुहमा बिभाजन गरि बालबालिकाका समस्या र समाधानका उपायहरुको बारेमा सुझाव  सङ्कलन गरिएको थियो । 

सहभागि प्रतिनिधिले बाल श्रम, बाल बिवाह, बालबालिकालाइ गरिने दुव्र्यवहार, लागुपदार्थ दुर्ब्यसन  रोकथाम लगायतका बिशयहरुलाइ आगामी बजेटमा समेटनु पर्ने धारणा राखेका थिए । 

कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल र उप प्रमुख राधा कार्कीले भद्रपुर बाल मैत्री नगरपालिका घोषणा भएको हुनाले बालबालिकाको चौतर्फी बिकासका लागि बाल भेलामा आएका सुझावहरुको आधारमा बालबालिकाको निम्ति आगामी बजेटमा कार्यक्रम ल्याइने प्रतिबद्धता ब्यक्त गरेका थिए । 

नगर बाल सन्जाल भद्रपुरका उपाध्यक्ष आरोग्य तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत  सामाजिक बिकास शाखा प्रमुख जीवनकला राउत र सन्चालन सन्जु कोइरालाले  गरेका थिए ।