बिर्तामोड ।
बिर्तामोड सानाशहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेठ १५ गते हुने निर्वाचनका उम्मेद्वारले चुनावी प्रचारप्रसारलाई तिब्र पारेका छन् । निर्वाचनको मिति नजिकिएसँगै दुवै प्यानलका उम्मेद्वारले घरदैलो अभियानलाई तिब्रता दिएका हुन् । दुवै प्यानलका उम्मेद्वारले मतदाताका घरघरमा गएर भोट मागिरहेका छन् ।
नेपाली कांग्रेस र राप्रपाले ‘लोकतान्त्रिक राष्ट्रबादी समूह‘ बनाएर मेघराज बास्तोलाको नेतृत्वमा प्यानल खडा गरेको छ भने नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजबादीले ‘स्वतन्त्र प्रगतिशील प्यानल’ खडा गरी देबेन्द्र सिटौलाको नेतृत्वमा चुनाबी मैदानमा उत्रिएका छन् ।
‘लोकतान्त्रिक राष्ट्रबादी समूह‘ का तर्फबाट अध्यक्षमा मेघराज बास्तोला, उपाध्यक्षमा शैलेश सिटौला, सचिवमा पारसमणि मैनाली र कोषाध्यक्षमा शारदा रिजाल, खुल्ला सदस्यमा आनन्द गुरुङ, खगेन्द्रकुमार थापा र महिला सदस्यमा कमला अग्रवाल, बालादेवी खरेल र मायादेवी प्रधानले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । अध्यक्ष पदका उम्मेद्वार बास्तोला खानेपानी संस्थामा यसअघि सदस्य हुँदै दुई कार्यकाल सचिव रहि सकेका ब्यक्ति हुन् ।
यता स्वतन्त्र प्रगतिशील प्यानलको तर्फबाट अध्यक्ष देवेन्द्र सिटौला, उपाध्यक्ष प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्ष विनिता राजवंशी खुला सदस्यमा छत्रबहादुर श्रेष्ठ र रमेश उप्रेती, महिला सदस्यमा तारा राई, पुनम अधिकारी र सीमा सिलवाल ढुंगानाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । अध्यक्ष पदका उम्मेद्वार सिटौला पनि यसअघि बिर्तामोड खानेपानीका निवर्तमान सदस्य हुन् ।
बिर्तामोड खानेपानीको निर्वाचनमा ८ हजार ७ सय ५४ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक खगेन्द्र खरेलले जानकारी दिए । उनले आज र भोलीमा मतपत्र र कर्मचारी ब्यवस्थापनको सम्पूर्ण तयारी पूरा गर्ने बताए । आज (शनिवार) ११ बजे निर्वाचन समितिको बैठक बसेर सवै तयारीका बिषयमा छलफल गरी निर्वाचन समितिको कार्यलाई अघि बढाइने संयोजक खरेलले जानकारी दिए ।