बिर्तामोड । 

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी २०८४ सम्ममा झापा जिल्ला घण्टीको किल्ला बनाउने दाबी गरेको छ ।पार्टीको बिर्तामोडमा शनिवार (आज) भएको बिर्तामोड प्रथम नगरको भेलामा बोल्दै पार्टीका झापा संयोजक उमेश खरेलले २०८४ सालसम्ममा झापा राष्ट्रिय स्वतन्त्र पार्टीको किल्ला बन्ने बताएका छन् ।

उनले पार्टी मिशन २०८४ मा रहेकाले पुराना नेताहरुलाई पाखा लगाउँदै घण्टी देशको मुख्य पार्टी बन्ने दाबी गरेका छन् । पार्टीका नगर अध्यक्ष शम्भूप्रसाद भण्डारीको अध्यक्षतामा भएको नगर अधिवेशनमा पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत बिर्तामोड नगर उपाध्यक्ष निर्मला खतिवडाले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की, निशा डाँगी, पार्टीका बिभागीय सदस्य निरज गौरीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा उक्त पार्टीबाट गत निर्वाचनमा झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार रुद्रप्रसाद गिरी,  झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार शम्भू सुस्केरालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन बिर्तामोड नगर सदस्य कमलमणि उप्रेतीले गरेका थिए । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।