झापा ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन उप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत छन् । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाइदिने भन्दै रकम असुल गरी ठगी गरेको उजुरीपछि यो प्रकरणमा अनुसन्धान जारी छ । यो प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक फरार छन् ।

आरोपितमाथि प्रहरीले अनुसन्धान गरी त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । त्यसपछि सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदन अध्ययन गरी प्रक्रिया अगाडि बढाउनेछ ।

पक्राउ पर्नेमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,  पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव तथा तत्कालीन गृहसचिव  टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन सभासद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पीए नरेन्द्र केसी, रहेका छन् ।

त्यस्तै बिचौलिया तथा तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाका पीए केशव दुलाल, बिचौलिया रामशरण केसी, गोविन्द चौधरी, सानु भण्डारी,  टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ रहेका छन् ।