सुरुङ्गा ।
कनकाई, बिर्ता, अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला ब्यवस्थापन कम्पनी लिमिटेडले १० दिन पछिदेखि बायो ग्यास सिलेण्डर र मल तयार गर्ने भएको छ । त्यस्तै आगामी साउन महिनादेखि मल परिक्षण गरेर बिक्री गरिने तयारी गरीएको कम्पनीका सञ्चालक सदस्य मिनाल तिम्सिनाले जानकारी दिए ।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाई, कम्पनीका सञ्चालक सदस्य सुवास भट्टराई, नारायण पोखरेलसहितको बायो ग्यास प्लान्ट अनुगमनका क्रममा कम्पनीका सञ्चालक सदस्य तिम्सिनाले सो जानकारी दिएका हुन् ।
झापाको कनकाई नगरपालिका वडा नम्बर २ मा कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाको संयुक्त ६० प्रतिशत र कम्पनीका सदस्यहरुको ४० प्रतिशत लगानीमा सञ्चालित कम्पनीले १० दिन पछिबाट ग्यास सिलेण्डर र मल तयार गर्ने अन्तिम तयारी गरेको हो ।
पछिल्लो समय फोहोर ब्यवस्थापनमा ठूलो चुनौति बन्दै गएकाले भद्रपुर र शिवसताक्षी नगरपालिका पनि जोडिने क्रममा रहेको सञ्चालक सदस्य तिम्सिनाले बताए । फोहोरमैला ल्याउने जिम्मा नगरले लिनु पर्ने बताउँदै कम्पनीका मेकानिककल इन्जिनियर रुपक कार्कीले पूर्ण रुपले सञ्चालन भएपछि प्रतिघण्टा १२ मिटर क्यू ग्यास उत्पादन हुने बताए । ५७ कठ्ठा जग्गाको एरिया रहेको कम्पनी साढे ५२ कठ्ठामा क्षेत्रफलमा रहेको उनले बताए ।
पूर्ण रुपले कम्पनी सञ्चालनमा आएपछि कनकाई २ र ३ का एक हजार २ सय घरधुरीलाई ग्यास पाइप लाइन मार्फत ग्यास दिन सकिने बताइएको छ । लगभग २० करोडको लगानीमा सञ्चालनमा आएको कम्पनीलाई विश्व बैंकले ५ करोड ४६ लाख रुपैयाँ राहत बापत प्रदान गरेको सञ्चालक सदस्य तिम्सिनाले जानकारी दिए । उक्त कम्पनीबाट उत्पादन हुने ग्यास सिलेण्डर होटल तथा रेष्टुरेन्टमा मात्र प्रयोजन उपयुक्त हुने बताइएको छ । अनुगमनका क्रममा बिर्तामोड नगरपालिका नगर प्रमुख पबित्रा महतरा प्रसाई, कम्पनीका सञ्चालक सदस्य सुवास भट्टराई, नारायण पोखरेललगायतको उपस्थिति रहेको थियो ।