दमक ।
भट्टराई बन्धुहरुले स्थापना गरेको साझा संस्था भट्टराई कूल वंश प्रतिष्ठानको आयोजनामा दमकमा सञ्चालन गरिएको श्रीमद भागवत महायज्ञमा अढाई करोड दिप प्रज्वलन गरिएको छ । महायज्ञको अन्तिम दिन लक्ष्यवत्ती (एक लाख) दिप प्रज्वलन गरेर विश्वशान्तिको कामना गर्ने परम्परा भएपनि आइतबार साँझ सामुहिक रुपमा अढाई करोड दिप प्रज्वलन गरिएको हो ।
प्रतिष्ठान अन्तर्गतको छोरीबुहारी सञ्जालको संयोजनमा भएको दिपप्रज्वलनको भागवत मन्जरी राधिका दासीले उदघाटन गरेकी थिइन । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराई, महासचिव चन्द्र भट्टराई र दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसार्इले एकसाथ दिपप्रज्वलनको शुरुवात गरेका थिए ।
महायज्ञमा सहभागीहरुले आआफना कूल पितृ तथा इष्टदेवताको स्मरणमा बाल्ने उद्धेश्यले ल्याएको दिप अर्थात बात्तीको संख्या दुई करोेड ५० लाख पुगेपछि सामुहिक रुपमा सबै दिपप्रज्वलन गरिएको प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईले जानकारी दिए । सोही दिन महायज्ञको समापनको अवसर पारेर ३८ जना बटुकहरुको सामुहिक उपनयन (ब्रतबन्ध) कार्यक्रम समेत गरिएको थियो ।