झापा । 

तेह्रथमु र पाँचथरमा आगलागीहुँदा तीन जनाको मृत्यु भएको छ। तेह्रथमुको आगलागीमा परी दुई जनाको मृत्यु भएको हो भने पाँचथरमा आगालागीमा परी एक जनाको मृत्यु भएको हो ।  तेह्रथमुको छथर गाउँपालिका–३ पञ्चकन्यामा बिहीबार दिउँसो आगलागीमा परी ५० वर्षीया दिलकुमारी भुजेल र उनका १४ वर्षीय छोरा भुपेन्द्र भुजेलको मुत्यु भएको प्रहरीले जनाएको छ । 

घर भन्दा केही तल रहेको बारीमा काम गर्दै गरेका आमाछोराको भाग्ने क्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। आगो निभाउने क्रममा चार स्थानीय घाइते भएका छन् भने एकको अवस्था चिन्ताजनक रहेको छ। ६० वर्षीय देवेन्द्र नेवारको हात र खुट्टा जलेको हो। अन्य तीनको अवस्था सामान्य छ। स्थानीय गढी सल्लेरी सामुदायिक वनमा लागेको डढेलो वस्तीमा सल्किएपछि मानवीय क्षति भएको हो। आगलागीमा पूर्व वडाध्यक्ष तुलसीजंग थापाको घर र गोठसमेत जलेको छ।

यस्तै जंगलमा लागेको डढेलोले घरमा सल्किँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ मा एक युवकको ज्यान गएको छ। ३२ वर्षीय मनकुमार नेम्वाङको जलेर मृत्यु भएको हो। आगलागीको समयमा नेम्वाङ घरमा एक्लै थिए। फरक क्षमता भएका उनी भाग्न नसक्दा बसेकै ठाउँ जलेर ज्यान गएको प्रहरीले जनाएको छ।

उनको बिहीबार दिउँसो साढे ३ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । स्थानीय लाक्सेबुङ जंगलको डढेलो नेम्वाङको घर सल्किएको जनाइएको छ ।