हल्दिबारी ।
भापाको हल्दिबारी गाउँपालिकाले सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता सम्बन्धी दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले हल्दिबारी ५ को धनुषा आधारभूत विद्यालयमा मंगलबार सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमको समन्वय गरेको स्माइल नेपालले प्रत्येक वडामा गएर सेवाग्राहीसँग सेवाका विषयमा ९० जना नागरिकसँग ४६ वटा प्रश्नहरु गरेको र प्राप्त भएको जवाफका आधारमा प्रतिवेदन प्रस्तुत गरेको थियो।
कार्यक्रममा ७÷८ जना सहभागीहरुले विभिन्न विषयमा प्रश्न सोधेका थिए। गाउँपालिकाको इन्धन खर्च किन धेरै? भौतिक पूर्वाधार, खानेपानी, कृषि, शैक्षिक सुधार, विद्यालयमा राजनिति बन्द गर्नुपर्ने, समयमै कार्य सम्पन्न नहुनुका कारणहरु, बालमैत्री स्थानीय सरकार बनाउन प्रयाप्त प्रयास नभएका लगायत विषयमा प्रश्न उठाएका थिए।
सहभागीहरूको प्रश्नको जवाफ दिदैँ अध्यक्ष लिङदेनले ईन्धनको विषयमा गाउँपालिकाको विशेष गरि जेसेवीमा खर्च भएको जुन विकास निर्माणका लागि प्रयोग भएको जानकारी गराएका थिए। उनले गाउँकै विकासका लागि प्रयोग भएको र कोही जनप्रतिनिधि तथा कर्मचारीले घुमघाम र व्यक्तिगत रुपमा प्रयोग नगरेको बताएका थिए।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाध्यक्षहरू १ नं देखि क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली, सन्तकुमार थापा र खड्ग लावतीसहित वडा सदस्यहरू, कर्मचारीहरु, विभिन्न संघ संस्था, राजनीतिक दलका प्रतिनिधिहरु, संचारकर्मीहरु, आम सर्वसाधारणको भने उपस्थित कम्तिनै थियो ।