झापा ।
लामिछाने बन्धु समाज झापाका नेतृत्वहरुले बन्धुहरु एकठाउँ उभिन सकेमात्रै कूलको उत्थान र संस्कारको संरक्षण साथै संस्कृतिलाई पुस्तान्तरण गर्न सहज हुनेमा जोड दिएका छन् ।
गर्ग गोत्री लामिछाने बन्धु समाज झापाले शुक्रवार कनकाई कोटीहोमस्थित गर्ग आश्रमको सभाहलमा आयोजना गरिएको गोठधुप पूजा समापन कार्यक्रममा बोल्दै बन्धु समाजका नेतृत्वहरुले छरिएर रहेका बन्धुहरु क्रमशः संगठित हुन आग्रह गरे ।
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष तथा सल्लाहकार समिति संयोजक एनपी लामिछानेले धन र सम्पत्ती हुँदामात्रै नभएर त्याग, इच्छाशक्ति र दृढ संकल्पले बन्धुहरु एकभएर अघिबढ्न सकिने बताए । उनले बन्धुहरु भावनात्मक रुपमा एकभए भवन लगायतका आवश्यक भौतिक संरचना निर्माण गर्न सहज हुने भएकाले सबैको सामुहिक प्रयत्न आवश्यक रहेको औंल्याए ।
संस्थाका अध्यक्ष टिकाप्रसाद लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन गर्दै सचिव विमल लामिछानेले संस्थाले गर्दै आएको भवन निर्माण लगायत नियमित कामको गतिविधि, कार्यसमिति, पदाधिकारीको भूमिका र आजिवन सदस्यताबारे जानकारी गराएका थिए भने बरिष्ठ उपाध्यक्ष पूर्णदेव लामिछानेले कार्यक्रममा उपश्थित बन्धु महानुभावहरुलाई स्वागत गर्दै निर्माणाधिन भवनको आवश्यकताबारे स्पष्ट पारेका थिए ।
संस्थाका कोषाध्यक्ष हरिप्रसाद लामिछानेले संस्थाको आर्थिक कारोबारवारे प्रष्ट पारेका थिए भने पूर्व अध्यक्ष रामप्रसाद लामिछानेले विगतको अनुभवसहित कार्यसमितिलाई अघि बढ्न सुझाव दिएका थिए ।
कार्यक्रममा पूर्व केन्द्रीय उपाध्यक्ष मातृकाप्रसाद लामिछाने, कार्य समितिका उपाध्यक्ष घनश्याम लामिछाने, पूर्व अध्यक्ष र पदाधिकारीहरु, लेखा समितिका पदाधिकारी र सदस्यहरु, अग्रज ज्येष्ठ बन्धुहरुसहित आमा, भाउजुहरु र नयाँ पुस्ता उत्तराधिकारीहरुको उपश्थिति रहेको थियो ।
झापाभरका दुईसय बढी घरबाट प्रतिनिधिमुलक रुपमा बन्धु भेला भएर लामिछाने बन्धु समाजले गर्ग ऋषिको विधिवत पूजा आरधनासहित गोठधुप पूजा समापन गरेको गोठधुप पूजा समितिका संयोजक गुरुप्रसाद लामिछानेले जानकारी दिए ।
झापाको कोटिहोममा गर्गगोत्री लामिछाने बन्धु समाजको दुईतले पक्की भवन निर्माणाधिन अवस्थामा रहेको छ । समाजले जिल्ला कार्य समितिको अगुवाइमा आपसमा स्वेच्छिक सहयोग संकलन गरेर भवन निर्माण गरिरहेको लेखा समितिका संयोजक युवराज लामिछानेले जानकारी दिए ।