बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका–५ मा नगरको स्वामित्वमा रहेको देविहाट बुधबारे बजारमा ब्यवसाय सञ्चालन गर्दै गरेका ब्यवसायीहरुलाई ब्यवसाय हटाउन सूचना जारी गरेसँगै त्रसित भएका छन् ।
नगरपालिकाको नियम परिधि भित्रै रहेर लामो समयदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरुलाई विगत दुई महिनादेखि पटक–पटक सूचना जारी गरेर ब्यवसाय हटाउन निर्देशन दिएपछि त्रसित भएका हुन् ।
नगरपालिकाले उक्त ठाँउमा टिडिएफ भन्ने कम्पनीको ऋण लगानीमा बहुतले व्यवसायिक भवन निर्माण गरिने भन्दै आकस्मिक रुपमा ३५, १५, १० र ३ दिने सुचना प्रकाशित गरिरहेकाले आफुहरु आतंकित तथा त्रसित भएको ब्यवसायीहरुले बताएका छन् ।
उनीहरुले शुक्रवार (आज) बिर्तामोडस्थित देबिहाटमा राजनितिक दलका प्रतिनिधि, बिर्तामोड उद्योग बाणिज्य संघका प्रतिनिधि, स्थानिय बुद्धिजिवी वर्गसहितको पत्रकार भेटघाटको आयोजना गरि आफ्ना जायज मागलाई सम्बोधन गर्न आग्रह समेत गरेका छन् ।
३५ दिने सुचना प्रकाशित भएपछि नगरको योजना बारे थाहा भएको र उक्त ठाँउमा बहुतले भवन बन्ने विकास हुने कार्यमा व्यवसायिहरुको पूर्ण साथ समर्थन, सहमति र सहयोग रहने जानकारी दिए । ब्यापारीहरुले वैकल्पिक व्यवस्थापन नहुदा जिविकानै टुट्ने र सडकमै आउने स्थिति सृजना हुने भएकाले नगरपालिका, वडा समक्ष लिखित र मौखिक रुपमै पटक–पटक अनुरोध गरेको बताएका छन् ।
उनीहरुले वैकल्पिक व्यवस्थापन हुन सक्ने केहि जग्गा धनी व्यक्तिहरुसँग नगरपालिकाको अगुवाईमा प्रयास गर्दा वैकल्पिक व्यवस्थापन सम्भव हुने ठाँउहरु समेत नगर र वडालाई जानकारी दिएको बताएका छन् । तर, उक्त कुरालाई हल्का रुपमा लिएर पुनः ३ दिने खाली नगरे बल प्रयोग गरिने भन्ने आश्रयको सुचना आएपछि व्यवसायी झनै आतङ्कित र त्रसीत भएको उनीहरुले बताएका छन् ।
उक्त स्थानमा २१० ब्यापारीहरु व्यवसाय गर्दै आएको जनाइएको छ । ब्यापारीहरुले हाल देशको विषम आर्थिक अवस्था र सम्पूर्ण व्यवसायहरु धरायासी भईरहेको अवस्थामा नगरपालिकाले व्यवसायिहरुको रोजीरोटी माथी प्रहार गर्ने कुचेष्टा गरेमा उत्पन्न हुन सक्ने जटील परिस्थितिको जिम्मेवार नगरपालिका हुनुपर्ने समेत पत्रकार सम्मेलनमा पिडित व्यवसायीद्धारा बितरित बिज्ञप्तीमा उल्लेख छ ।
नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल, नेकपा (एकीकृत) समाजवादी नगर अध्यक्ष श्रीप्रसाद सिटौला, रास्पाका नगर अध्यक्ष शम्भू भण्डारीलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बिर्तामोडमा जानकार हर्कलाल गिरी, बिर्तामोड उद्योगा बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, माओवादी नगर सचिव गणेश कालिकोटेलगायतको उपस्थिति रहेको थियो ।


















