चारपाने । 

पछिल्लो समय मनोरोगीहरु बढ्दै गएको भन्दै बिकाशानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रले झापाको बिर्तामोडमा आयोजना गरेको एकदिने योग, ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान प्रवचन शिविरको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

झापा केन्द्रले बिहीवार (आज) चारापानेस्थित सहारा नेपाल साकोसको कार्यालयमा पत्रकार सम्मेलनको आयोजनामा गरी भोली बैशाख २२ गते शुक्रवार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने कार्यक्रमको तयारीको बारेमा जानकारी दिएको हो । 

मानवलाई चिन्ताको बिकाराल जालोबाट उन्मुक्ति गराएर नयाँ जोश र जाँगरका साथ जीवनशैली परिवर्तन गर्ने उदेश्यले शिविरको आयोजना गरेको विकाशानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्र तथा शिविर आयोजक समितिका सचिव बिजय बरालले जानकारी दिए । एकदिने योग ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान शिविरमा डा. विकासानन्दले प्रवचन दिनेछन् । 

पछिल्लो समय तीब्रगति र असन्तुलित जीवन शैलीका कारण मानिसहरुमा डिप्रेशन, एन्जाइटी, डर, त्रास, लागूपदार्थ, दुब्र्यसन, असफल प्रेम र शारीरिक कमजोरीका शिकार भइरहेकाले त्यसलाई न्युनिकरण गर्न शिविर कोशेढुङ्गा साबित हुने डा. विकाशानन्दले पत्रकार सम्मेलनमा बताए । उनले पत्रकार सम्मेलनमै मनोक्रान्तिका बारेमा प्रयोग समेत गरेर देखाएका थिए । 

प्रकृतिले साथ दिए शिविरमा १५ देखि २० हजार बढीको उपस्थिति रहने आयोजक संस्थाले जनाएको छ । सोही कार्यक्रममा सम्मान र सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । 

पत्रकार सम्मेलनमा अध्यक्ष रिना थापा (मेयर मगर), सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, गुरुआमा कमलेश्वरी आनन्द, अभिनेत्री गौरी मल्ल, झापा केन्द्रका कोषाध्यक्ष ओमबिक्रम नेम्वाङलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । पत्रकार सम्मेलनमा सल्लाहकार गजेन्द्रबहादुर पौडेल, विश्व परिवारका सदस्य गजेन्द्रराज नेम्वाङलगायतको उपस्थिति रहेको थियो ।