बिर्तामोड ।
अंग्रेजी भाषा शिक्षकहरुको संस्था नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाले उत्कृष्ठ शाखा घोषित भए वापत प्राप्त पुरस्कारको रकम शैक्षिक गुणस्तर तथा प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले ३ दिने नेतृत्व बिकास तथा बिद्यालय व्यवस्थापन तालिम सञ्चालन गर्ने भएको छ ।
शैक्षिक संस्थाहरु मार्फत शिक्षक तथा विद्यार्थीहरूको नेतृत्व गरिरहेका प्रधानाध्यापकहरु तथा निजी विद्यालयका प्रिन्सिपलहरुलाई उक्त तालिम दिन लागिएको हो । विद्यालयमा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बालबालिकाहरुमा समय सापेक्ष शैक्षिक गतिविधि र शिक्षण सञ्चालन गर्न प्रधानाध्यापकहरुको महत्वपूर्ण भूमिका रहने हुनालले उनीहरुलाई तालिम दिन लागिएको जनाइएको छ ।
नेल्टा झापाले आफूले पाएको पुरस्कारलाई समेत शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि थोरै भएपनि मद्दत पुगोस् भनेर तालिम सञ्चालन गर्न लागिएको नेल्टा झापा का अध्यक्ष तथा केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराईले जानकारी दिए ।
तालिममा झापा जिल्लाका करिब ४० जना प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको सहभागी हुने आयोजक नेल्टा झापाले जनाएको छ । तालिमलाई त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्राध्यपक डा. शिवराम पाण्डे र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेल्टा कि केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवानले सहजिकरण गर्ने भएका छन् ।
वैशाख २२ गतेदेखि २४ गतेसम्म बिर्तामोड उक्त तालिम सञ्चालन हुने भएको हो । नेल्टा झापा यस बर्षको उत्कृष्ट शाखा घोषित गरिएको थियो । झापा जिल्लामा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरूका लागि तालिम, गोष्ठी तथा सम्मेलनहरु संचालन गर्दै आएको छ ।