झापा ।
पूर्वमा पहिचानवादी आन्दोलनलाई ससक्त बनाउन चारवटा राजनीतिक घटक एकीकरण भएका छन् । राजनीतिक घटकहरु नागरिक उन्मुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति र नागरिक श–शक्तिकरणका लागि जागरण अभियानले एकीकरण भएका छन् ।
चारवटा घटक एकीकरण भएर बनेको नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले बुधबार(आज) बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी एकात्मकवादी राज्य सत्ताको जग भत्काउन पहिचानवादी शक्तिहरुको एकताबाट मात्र सम्भव भएकाले एकीकरण गरेको जानकारी दिएका हुन् ।
पहिचान प्राप्तिका लागि भूमि, जातीय, क्षेत्रीय, लैंगिक, वर्गीय मुक्ति लगायतका मुक्तिगामी आन्दोलन शसक्त बनाउन आवश्यक रहेको महसुस गरेर पार्टी एकीकरण गरिएको एकीकरण पछिको नागरिक उन्मुक्ति पार्टीका संघीय अध्यक्ष ज्ञानबहादुर गुरुङले बताए । ‘नेपालमा कोशी छैन’ संघीय अध्यक्ष गुरुङले भने ‘कोशी पहिचान होइन ।’ पहिचानबादीहरुको शक्तिलाई कमजोर हुन नदिन एकीकरण गरेको उनले बताएका छन् ।
नेपालको पहिचानबादी आन्दोलन कम्जोर भएको ठहर गर्दै सुदुरपूर्वबाट उदाएको पहिचानवादी शक्ति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति, नागरिक श–शक्तिकरणका लागि जागरण अभियान र सुदुरपश्चिमबाट उदाएको अर्को पहिचानवादी शक्ति नागरिक उन्मुक्ति पार्टी विच पार्टी एकीकरण भएको महासचिव दिलकुमार लावतीले बताए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नागरिक उन्मुक्ति पार्टीको बार्ता टोलीबिच गत २०७९ फागुन २३ र २४ काठमाडौंमा दुई पक्षीय वार्ता समितिले १० बुँदे सहमति गरेको थियो । सोही अनुसार गत २०८० वैशाख १८ गते मोरङमा नागरिक उन्मुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका साथै कोचिला एकता संघर्ष समिति र नागरिक श–शक्तिकरणको लागि जागरण अभियानसहित चारवटा संगठनहरु बिच पार्टी एकता भएको वार्ता समितिका धनबहादुर पन्धाकले जानकारी दिएका छन् ।
नाउपाको तर्फबाट अध्यक्ष रन्जिता श्रेष्ठ (चौधरी) र सलोरामको तर्फबाट अध्यक्ष ज्ञानबहादुर गुरुङद्वारा हस्ताक्षर भएसँगै चारवटा राजनैतिक घटकहरु बीच एकता भएको पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । दुई पक्षीय वार्ता समितिले गरेको १० बुँदे सहमतिमा भनिएको छ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी ( एकीकृत), पार्टीको झण्डा प्रदेश संख्या निर्धारणको आधारमा प्रदेश प्रतिकका रुपमा ताराहरु रहने गरी नयाँ झण्डा निर्माण गर्ने, कार्य विधान मस्यौदा समितिले टुङ्गो लगाउने, पार्टीको चुनाव चिन्ह ढकिया, डालो, डलिया, मुजेला, छिट्टी मौलिक पहिचान अनुसार उचारण गर्ने, शासकीय स्वरुप आलङ्कारिक राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने जनाइएको छ ।
त्यसैगरी राज्यको पुनः संरचना गरि पहिचानमा आधारित १०+१ लाई आधारसूत्र मानेर राज्य समिति कार्यकारी अधिकार सम्पन्न बनाउने, पार्टी संरक्षक रेशमलाल चौधरीको संयोजकत्वमा एक समिति बनाई विचार निर्माण गर्ने, लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फवाट प्रस्तावित पदाधिकारी र सदस्यहरुमा संघीय अध्यक्ष ज्ञानवहादुर गुरुङ, उपाध्यक्ष अम्बरबहादुर लिम्बु (एवी पन्धाक), अशोक चेम्जोङ, इन्द्रकुमारी लिम्बु (इन्दीरा), महासचिव दिलकुमार लावती, सह–सचिव त्रिनारायण राजवंशी, पदम अधिकारी, ङिमा रिजी शेर्पा रहनेलगायतका १० बुँदे सहमति भएको जनाइएको छ ।
अतिरिक्त विभागीय प्रमुखसहित केन्द्रीय सदस्यहरुमा पूर्णकला लिम्बु (तेयुङ्), रमेश गजमेर, विष्णुकुमार लिम्बु (सेसेहाङ), लक्ष्मीप्रसाद मावो, गजेन्द्रमान चोङवाङ क्याक, विक्रम बराईली, दामोदर पाण्डे (प्रवेश), धनबहादुर पन्धाक, सुस्मा कन्दङ्वा, भक्त बहादुर लिम्बु, भुपेन्द्र मावो, अम्बरबहादुर लिम्बु (अमर) र चन्द्रराज आङ्देम्बे रहने साथै केन्द्रिय समितिका बाँकी पदहरु यथावत रहने गरी सहमति भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।