बिर्तामोड । 

झापाको बिर्तामोडमा बुधवार( आज) ब्रिज कोर्स तथा भाषा शिक्षण कक्षा सञ्चालन सम्बन्धि एक दिने अभिमूखिकरण कार्यक्रम भएको छ । सामाजिक बिकास मन्त्रालय कोशी प्रदेश बिराटनगरको आयोजना तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को समन्वयमा अभिमूखिकरण भएको हो । 

प्रदेशभर ब्रिज कोर्स र भाषा शिक्षण प्रदान गर्ने संस्थाहरूको अनुमति तथा नवीकरण, अनुगमन तथा नियमन लगायतक कार्यलाई व्यवस्थित र सरलीकृत गर्ने, ब्रिज कोर्स र भाषा शिक्षण सम्बन्धी कार्य गर्ने संस्थाले प्रदान गर्ने सेवा सुविधालाई व्यवस्थित गर्नुका साथै लिइने शुल्कलाई पारदर्शी गर्ने, ब्रिज कोर्ष र भाषा शिक्षण सम्बन्धी कार्यलाई व्यवस्थित, सरल, सहज, भरपर्दो, गुणस्तरीय एवम् पारदर्शी बनाउने, ब्रिज कोर्र्स र भाषा शिक्षण कार्यमा संलग्न संस्थालाई मर्यादित र अनुशासित बनाउने, र सेवा प्रदायक संस्था र विद्यार्थीबीच सु–सम्बन्ध कायम गर्ने उदेश्यले अभिमूखिकरण भएको जनाइएको छ ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका युवा तथा खेलकूद महासंघ प्रमुख फडिन्द्र खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराईले बिषय बस्तुको मुख्य प्रस्तुतीकरण गरेका थिए । 

स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश सामाजिक विकास मन्त्रालय उपसचिव कृष्णप्रसाद पोखरेलले गरेको कार्यक्रममा इक्यानको केन्द्रिय सदस्य पुष्पराज भट्टराई, इक्यान झापा अध्यक्ष मिलन ओलीसहित इक्यान झापामा आवद्धहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत बलराम पराजुलीले गरेका थिए । झापापछि इटहरी र बिराटनगरमा पनि अभिमूखिकरण गर्ने जनाइएको छ ।