बिर्तामोड ।
नेपाली काङ्ग्रेस झापाले रेल्वे पीडितहरुको रोक्का रहेको जमिन फुकुवा गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । रेल्वेको नक्साङकनले चर्चेको रेल स्टेसन समेतको क्षेत्रफलको जमिनको पनि न्यायोचित मुआब्जा दिन झापा काङ्ग्रेसले सरकारसग जोडदार माग गरेको छ ।
पार्टी सभापति देउकुमार थेवेद्वारा आज जारी प्रेस बिज्ञप्तिमा रेल्वे पीडित संघर्ष समितिले पटक–पटक आवाज उठाउँदा समेत समाधान हुन नसकेको यो समस्या झापा काङ्रेसको प्रतिनिधि मण्डलको पहलमा रेल्वेको नक्सा बाहेकको जग्गा फुकुवा भएको उल्लेख गरिएको छ ।
कांग्रेस झापाको प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष रेल्वेमा परेको क्षेत्रफल बाहेकको जग्गा फुकुवा नहुँदा झापालीहरु पीडित बनेको बिषय जानकारी गराएपछि मन्त्रीस्तरीय निर्णयबाट जग्गाको आंशिक फुकुवा भएपछि उक्त निर्णयको झापा कांग्रेसले स्वागत गरेको हो ।
रेल्वेको नक्सांकन क्षेत्रमा परेको जग्गाको सानो क्षेत्रफलले गर्दा सिङ्गो कित्ता नै रोक्का हुनु न्यायसंगत नभएको रेल्वे पीडित संघर्ष समितिले पटक–पटक आवाज उठाउँदै आएपनि यो समस्या समाधान हुन सकेको थिएन ।
कित्ता नम्बर एउटै भएपनि रेल्वेको नक्साले नभेटेको जमिनको क्षेत्रफललाई रोक्का राखिरहनु न्यायसंगत नदेखिएको हुँदा कांग्रेसको प्रतिनिधिमण्डलले सम्बन्धित निकायहरुको समेत ध्यानाकर्षण गराई समस्या समाधानमा पटक–पटक पहल गरेपछि यो समस्या आंशिक रुपमा समाधान भएबाट केही ब्यवहारिक सहजता हुने काङ्ग्रेसको ठम्याई छ ।
‘रेल्वेमा जग्गाको निश्चित भूभाग ओगटेपनि सम्बन्धित कित्ता नम्बरको सबै जग्गा रोक्का हुँदै बैंकिङ कारोबार, अंशवण्डा, बेचविखन लगायतका कार्यमा सरोकारवालाहरुले समस्या भोग्दै आएको अवस्थामा आंशिक रुपमा भएपनि यो समस्याबाट केही सहजता हुने हामीले विश्वास लिएका छौं’– बिज्ञप्तिमा भनिएको छ ।
कित्ता नम्बर एउटै भएपनि रेल्वेको नक्साले नभेटेको जमिनको क्षेत्रफललाई आंशिक फुकुवा गर्ने कार्यमा सहजीकरण गरेकोप्रति रक्षा एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशसरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, रेल्वे विभागका महानिर्देशक रोहित विशुराललगायतलाई नेपाली कांग्रेस झापाले धन्यवाद ज्ञापन गरेको छ ।