- चन्द्र बस्नेत
कनकाई ।
पाँचथरको तुम्बेवा गाउँपालिका–३ मौवामा २ दिने बहुसस्कृतिक सङ्गोष्ठी सम्पन्न भएको छ। कोर्काली अध्ययन केन्द्र फिदिम पाँचथरको आयोजना तथा तुम्बेवा गाउँपालिकाको आर्थिक सहयोग र दर्जनौं संघ–सस्थाको सह–आयोजनामा २ दिने बहुसस्कृतिक सङ्गोष्ठी सम्पन्न भएको हो।
कोर्काली अध्ययन केन्द्रका अध्यक्ष रविन कोर्कालीको अध्यक्षता तथा गाउँपलिकाका अध्यक्ष बाबुराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कोर्काली अध्ययन केन्द्र स्थापना भएको छोटो समयमा नै आफ्नो भाषा, कला संस्कार, संस्कृतिको उत्थान गर्दै नयाँ पीडिहरुमा आफ्नो मौलिकता, इतिहास, पहिचान र थाकथलो बारे जानकारी गराउने मुख्य उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्ययन केन्द्रका अध्यक्ष कोर्कालीले जानकारी दिए।
कार्यक्रममा लोप हुँदै गएको कला सस्कृति र त्यसको संरक्षण गरि विभिन्न जातिका, भाषा, संस्कारको सम्बद्र्धन र विकृति–विसंगतिको न्यूनीकरण गर्न सचेतनात्मक कार्यक्रम सञ्चालन गरिएको गाउँपलिकाका अध्यक्ष खड्काले बताए। अध्ययन केन्द्रले आफ्नो रीति–रिवाजको जगेर्ना, इतिहासको खोज, अनुसन्धान र सचेतनाको विकास, आपतविपद् र अप्ठ्यारोमा आर्थिक तथा मानवीय सहयोग प्रदान गर्दै आएको बताईएको छ।
२ दिने बहुसस्कृतिकसङ्गोष्ठी कार्यक्रममा आफ्नो भाषा, कला संस्कार, संस्कृतिको उत्थान गर्दै नयाँ पीडिहरुमा आफ्नो मौलिकता, इतिहास, पहिचान जोगाउन दर्जन बढी जात जातिका कला सस्कृती प्रस्तुत गरिएको पालिका उपाध्यक्ष खड्ग सुन्दर तुम्बाफेले बताए।कार्यक्रममा लोक गायक जीवन शर्माले आफ्ना पुराना गित सिमली छायांमा बसि लगायतका अन्य विभिन्न गितमा उपस्थित सबैलाई छम छमी नचाहेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिलेन्द्र शेर्मा, गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत मणिराज खतिवडा लगायतले शुभकामना मन्तब्य राखेका थिए । सोही अवसरमा अग्रज चन्द्रकुमार शेर्मा, सेसेमी नाल्बो, यादपप्रसाद भट्टराई लगायतलाई सम्मान गरिएको थियो ।
कोर्काली समाजका सदस्य जीवन गौतमले स्वागत, नौलो साहित्य समाजका सदस्यीय प्रेम ओझाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सन्चालन अध्ययन केन्द्रका सदस्य पवित्रा प्रयत्न (गुरुङ) र मदन मुर्छनाले संयुक्त रुपमा गरेका थिए ।