बिर्तामोड । 

साहित्य चौतारी झापाले १५ ओटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र  निर्णायक मण्डलसँग छलफल गरेको छ ।  विद्यालयमा साहित्य चौतारी अभियानका विषयमा शनिबार सरोकारवालालाई बिर्तामोडको होटल हिकोला हेरिटेजमा बोलाएर छलफल गरिएको हो ।

नेतृत्वदायी भूमिकामा रहेर साहित्य चौतारीले कार्यक्रम सञ्चालनका लागि झापा र भोजपुरका १६ वटा विद्यालयलाई सहयोग गरिरहेको छ । साहित्य, संगीत र कला विधामा लुकेर रहेका विद्यार्थी प्रतिभाको पहिचान गर्ने उद्देश्यले विद्यालयमा साहित्य चौतारी अभियान सुरु भएको हो ।

विद्यार्थीमा प्रतिस्पर्धी क्षमताको विकास गरी उनीहरुलाई विभिन्न विधामा दक्ष बनाउने दीर्घकालिन नीतिसहित विद्यालयमा साहित्य चौतारी अभियान सुरु गरिएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

विद्यालयबाट छानिएका उत्कृष्ट प्रतियोगीबीच साहित्य चौतारी आफैंले पनि प्रतिस्पर्धा गराउने नीति अगाडि सारेको छ । साहित्य चौतारीका संरक्षक श्रेष्ठ विभिन्न विधामा अब्बल जनशक्ति उत्पादनको लक्ष्य राखेर कार्यक्रम सञ्चालन गरिएको बताउँछन् । 

साहित्य चौतारीले विद्यालय तहमा यो कार्यक्रम सञ्चालन गर्न साहित्यकार भानुभक्तको कुभिण्डेलीको नेतृत्वमा समिति पनि बनाएको छ । कार्यक्रम लागू भएका विद्यालयमा हरेक महिना साहित्य, संगीत र कला विधामा विद्यार्थीबीच प्रतिस्पर्धा हुने संयोजक कुभिण्डेलीले बताए । 

प्रतियोगितामा उत्कृष्ट भएका विभिन्न विधाका विद्यार्थीलाई साहित्य चौतारीले नगद पुरस्कार समेत उपलब्ध गराउँदै आएको संरक्षक श्रेष्ठले जानकारी दिए । छलफलमा सहभागी विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले विद्यार्थीको अन्तरनिहीत प्रतिभा उजागर गर्न साहित्य चौतारीको काम देखेर दश गुणा बढी उर्जा मिलेको बताएका छन्  । 

सरकारी वा अरु कुनै पनि निकायबाट स्रोतको आशा नगरी साहित्य चौतारीले एकलरुपमा सञ्चालन गरेको यो अभियान थप प्रभावकारी र रचनात्मक बनाउन आफूहरुका तर्फबाट सक्दो सहयोग रहने उनीहरूको प्रतिबद्धता छ ।

साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षता र प्राज्ञसभा सदस्य हरि पौडेलको प्रमुख आतिथ्यमा छलफल कार्यक्रम आयोजना गरिएको हो । छलफलका सहभागीहरुले कार्यक्रमलाई अझै परिष्कृत बनाउँदै लैजाने योजनासहित लिखित रुपमा सुझाव राखेका छन् ।

विद्यालयबाट प्राप्त भएका सुझावलाई कार्यान्वयनका लागि साहित्य चौतारीले आवश्यक प्रयास र प्रयत्न गर्ने अध्यक्ष परियारले बताए । सिर्जनशील प्रतिभाको पहिचान गरी उनीहरूको क्षमता विकासमा सघाउन साहित्य चौतारी सधैँ तयार रहेको अध्यक्ष परियारको धारणा छ ।

कार्यक्रममा बोल्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले विद्यालय तहमा साहित्य चौतारीले सुरु गरेको अभियानले विद्यार्थीमा लुकेर रहेको अन्तरनिहीत प्रतिभा उजागर हुनेमा आफू विश्वस्त रहेको बताए ।

छलफल कार्यक्रममा हिमालय मावि दमकका प्रधानाध्यापक द्रोण श्रेष्ठ, शान्ति आदर्श मावि वुद्धशान्तिका प्रधानाध्यापक अनिल खतिवडा, शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि खनाल, कनकाई माविका शिक्षक गोपीकृष्ण भट्टराई, जनता मावि गौरादहका प्रधानाध्यापक हरिप्रसाद अधिकारी, दुर्गा मावि गरामनीका प्रधानाध्यापक लक्ष्मण सिवाकोटी, भद्रपुर माविका प्रधानाध्यापक होम गुरुङ, झिलझिले माविका प्रधानाध्यापक खेमराज निरौला, महेन्द्र रत्न मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन राई, पथरिया माविका शिक्षक पेशल भट्टराई, गौरीगञ्ज माविका प्रधानाध्यापक गोविन्द घिमिरे, कुवाडी देवी माविका प्रधानाध्यापक मुकेशकुमार कर्ण, फुलवारी माविका साहित्य संयोजक घनश्याम उप्रेती, हल्दीवारी माविका प्रधानाध्यापक रामप्रसाद घिमिरे,गौरीगञ्ज माविकी शिक्षिका मनिता गणेश, दुर्गा मावि गरामनीकी शिक्षिका शान्ता बराल लगायतले आफ्नो धारणा राखेका छन् ।

साहित्य चौतारीकी सचिव खगेन्द्रा खुशीले सञ्चालन गरेको कार्यक्रममा बालप्रतिभा अनुजा कडरियाले गीत, भीमा खतिवडाले कविता  र मनिषा भट्टराईले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा चित्रकार स्वरुप दाहालले झिलझिले माविका प्रधानाध्यापक खेमराज निरौलाको आकृति बनाएका थिए । कार्यक्रममा दाहाललाई पुरस्कृत गरिएको थियो ।