धुलाबारी ।
झापाको मेचीनगरस्थित धुलाबारीमा पहिलो पटक दनुवार समुदायको संस्कार संस्कृति प्रवर्धन गर्ने उद्देश्यले एकदिने सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।
झापा जिल्ला दनुवार जागरण समितिको आयोजना तथा मेचीनगर दनुवार जागरण समितिको संयोजनमा शनिवार (आज) दनुवार समुदायको संस्कार झल्काउदै सांस्कृतिक महोत्सव आयोजना गरिएको हो ।
सोही कार्यक्रमकाबिच १३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने नेपाल रेडक्रस सोसाइटी झापाको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमसमेत गरिएको थियो । रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।
झापा जिल्ला दनुवार जागरण समितिका अध्यक्ष श्याम दनुवारको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष रामकुमारसिंह दनुवारको प्रमुख आतिथ्य रहेको थियो । स्वागत यमनकुमार दनुवारले गरेको कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ झापाका अध्यक्ष पाण्डपलाल चौधरी, महासंघ अर्जुनधारा नगर उपाध्यक्ष श्रीलाल चौधरी, मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, अर्जुनधारा नगरसभा सदस्य भिम राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन समितिका झापा सल्लाहकार मदनकुमार दनुवार र अग्निमाया दनुवारले संयुक्त रुपमा गरेका थिए । सिमान्तकृतका रुपमा रहेको दनुवार समुदाय झापाको अर्जुनधारा र मेचीनगरमा संख्यात्मक रुपमा बसोवार गर्दै आएका छन् । झापाभर करिब एक हजार २ सय घरधुरी परिवार दनुवार समुदायको बसोबास रहेको झापा अध्यक्ष श्याम दनुवारले जानकारी दिएका छन् ।