इलाम ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नहुने बताएका छन् । पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी नामले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकै ठाउँमा समेटेकोले नामकरण बिरुद्धको आन्दोलनको अर्थ नरहेको बताएका छन् ।
प्रदेश सबैको साझा भएकाले प्रदेश सभाको दुई तिहाई मतले साझा नाम कोशी नामकरण गरेको भन्दै उनले अब नाम परिवर्तन गर्नुपर्ने भए जनताको मत जितेर दुई तिहाई पु¥याउन आन्दोलनकारीलाई सुुझाव दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउँने नौं जनालाई प्रहरीले पक्राउ गरेको छ । ओली इलामको कन्यामबाट सदरमुकाम जाँदा मेची राजमार्गको गोदक खण्डमा आन्दोलनकारीले रुख ढालेर बाटो अवरोध गरेका थिए । अवरोध चिर्दै इलाम बजार पुग्दा उनलाई कालोझन्डा देखाइएको हो ।
ओलीलाई चोक बजारमा कालोझन्डा देखाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । युवा संघका कार्यकर्ता र कोशी नाम खारेज माग गर्ने प्रदर्शनकारीबीच झडपको अवस्था आएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश सभाको दुई तिहाइ भन्दा बढी मतले कोशी प्रदेश नामकरण गरेको हो । ९३ जना प्रदेश सभा सदस्य रहेको कोशी प्रदेशका ८२ सांसदले कोशी नामको पक्षमा मतदान गरेका छन् । नामकरण पश्चात यसको स्वागत र विरोध दुवै हुदै आएको छ । पहिचान पक्षधरले कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् । तर, आन्दोलन अराजक बन्दै जाँदा यसको आलोचना पनि बढ्न थालेको छ ।