झापा ।
बिर्तामोडनगरपालिकाले न्यायिक समिति र मेलमिलाप केन्द्रका पदाधिकारीहरुका लागि ७ दिने आधारभूत तालिम शुरु गरेको छ ।तालिमको उद्घाटन नगर प्रमुख पवित्रा महतारा प्रसाईलेगरेकी हुन् । न्यायिक समिति र मेलमिलाप केन्द्रको कार्य सम्पादनमा थप सुधार ल्याउने उदेश्यका साथ आयोजना गरीएको तालिममा नगरका सबै वडामा रहेका मेलमिलाप कर्ताहरुको सहभागिता रहेको छ ।
नगर प्रमुख प्रसाईले मुद्दा आफ्नो र अर्काको नहुने भएकोले धैर्यतापूर्वक गुनासो सुन्न र निर्णयमा पुग्न विवेक प्रयोग गर्नु पर्ने बताइन । आफु नगर उपप्रमुख हुँदा बिर्तामोडको न्यायिक समिति जिल्लाकै उत्कृष्ट भएको चर्चा गर्दै उनले क्षेत्राधिकार र मुद्दाको प्रकृति अनुसार हेर्न मिल्ने नमिल्ने कुरामा समेत सचेत रहनु पर्ने बताइन् । नगर प्रमुख प्रसाईले प्राकृतिक न्यायको सिद्धान्तका आधारमा रहेर छलफल गर्नु पर्नेमा जोड दिँदै तालिममा सहभागी सबैलाई अव्वल बन्न आग्रह गरिन् ।
त्यसैगरी नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक नगेन्द्रप्रसाद संग्रौलाले प्रश्न उठ्ने गरि कुनै पनि मेलमिलाप नगराउन सबैलाई आग्रह गरे । वहस पैरवीको समयमा समस्या भए विज्ञहरुसँग सल्लाह लिन सुझाव दिँदै उनले उत्कृष्ट कार्य सम्पादनमा जोड दिए ।
तालिममा अधिवक्ता कमला आचार्य, दिपेन्द्र भट्टराईले प्रशिक्षण दिने नगरकी न्यायिक शाखा अधिकृत टिका लामिछानेले जानकारी दिइन् । उद्घाटन कार्यक्रममा वडा नम्बर १० का वडाअध्यक्ष दर्योधन गुरुङ, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । बिहीवारबाट शुरु भएको तालिम बैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।