सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका वडा नं १ कार्यालयले गत चैत १७ गते आएको हावाहुरीसहितको असिना पानीले घरमा क्षति पुर्याएका वडाबासीलाई राहत रकम बितारण गरेको छ ।
नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले हावाहुरी तथा असिना पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन् । हावाहुरीले क्षति धेरै भएपनि वडाबासीलाई केही मात्रामा भए पनि स्थानीय सरकारको प्रत्याभूति होस् भनेर राहत प्रदान गरिएको उनले बताए ।
‘बजेट अभावमा नगरका धेरै काम हुन सकेको छैन, उनले भने ‘तरपनि वडाको बजेटलाई प्राथमिकतामा राखेर सकेसम्म जनताका आवश्यकता पूरा गर्न लागिपरेका छौं ।’ नगरमा भएको क्षतिको विवरण संकलन गरी राहतका लागि संघ र प्रदेशमा पठाइएको समेत उनले जानकारी दिए ।
पहिलो चरणमा हावाहुरीसहितको असिनाले घरमा क्षति पुगेका परिवारलाई थोरै भएपनि राहत होस् भनेर राहत प्रदान गरिएको वडाध्यक्ष सुशीलकुमार पोखरेलले बताए।
कृषिबालीमा क्षति पुगेकाहरुलाई राहतका लागि सम्बन्धित निकायहरुमा पहल भइरहेको र नगर तथा वडागत रुपमा प्राप्त प्रतिवेदनका आधारमा क्षति भएको मकै खेतीका लागि उन्नत जातको धानको विउ उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।
आज वडा न १ का घरमा पूर्ण क्षति भएका १८ परिवारलाई प्रतिपरिवार १० हजार, आंशिक क्षति भएका १८ परिवारलाई प्रति परिवार ७ हजार ५०० र सामान्य क्षति भएका १६ जना परिवारलाई र ५ हजार रुपैयाँका दरले राहत वितरण गरिएको वडा सदस्य हरिकुमार राईले जानकारी दिए ।
कार्यक्रममा शिक्षा शाखाका प्रमुख पिताम्बर गौतम, कृषि शाखाका प्रमुख यदुनाथ उप्रेती, वडा सदस्य निर्मला खड्का, दलबहादुर थापा, संजिता घतानी ल्वागुन, कर्मचारी लक्ष्मी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।