बुधवारे । 

झापाको बुधबारेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न पुगेका नेकपा एमालेका केपी शर्मा ओलीमाथि पहिचानवादीहरुले कालो झण्डा देखाउँदै हुलहुज्जत गरेका छन्। ओली सहभागी हुने उक्त कार्यक्रम स्थल बाहिर प्रहरी र पहिचानवादीहरु बीच सामान्य झडप समेत भएको थियो ।

प्रहरीका अनुसार प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन् । 

नेकपा एमालेका अध्यक्ष ओली माथि ढुङ्गा हान्ने दुई जनालाई प्रहारी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये दुई जनालाई पक्राउ गरिसकेको र बाँकीको खोजी गरिरहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रम स्थलतर्फ जान खोजेपछि उनीहरुलाई १०० मिटर वरै रोकिएको थियो । त्यस क्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको प्रहरीले जनाएको छ ।