लक्ष्मीपुर ।
झापाको अर्जुनधारा नगरपालिका–५ पानीकलका टेकनाथ अधिकारी (महेन्द्र) र कैलाश अधिकारीले आफ्नी दिवंगत आमाको जन्म जयन्तीको अवसर पारेर १६ जना आमाहरुलाई सम्मान गरेका छन् । अधिकारी दाजुभाईले आमाहरुलाई सम्मान गरी मिष्ठान्न तथा भोजन गराएका थिए ।
माता तिर्थ औशीको सन्दर्भ पारेर आज (शुक्रबार) स्व. आमा तीर्थकुमारी अधिकारीको ८० औं जन्मजयन्तीको दिन आमासँगै मेलापात, घास दाउरा, अैचोपैंचो गर्ने आमाका समाकालिन साथीहरुलाई आमा जस्तै लाग्ने गरेकाले सम्मान गरेको महेन्द्रले जानकारी दिए ।
माता पिताको सम्मान हुन सकेमात्र तिर्थ ब्रत, धर्मकर्म गरेको सार्थक हुने संदेश दिन छिमेकी आमाहरुलाई आफ्नै आमा सम्झेर सम्मान गरेको महेन्द्रले बताए ।
समाजमा आमाबुवालाई वृद्धआश्रम पुर्याउने संस्कार मौलाई रहेको अवस्थामा आमाबुवाहरु भगवान स्वरुप जीउदो तिर्थ हुन र सन्तानहरुले आफ्ना आमाबुवालाई घरमा मात्र होइन सामाजिक रुपमा सम्झने सामाजिक परंपराको थालनी भएको भन्दै समाजका अगुवाहरुले अधिकारी दाजुभाईलाई धन्यवाद दिएका छन् ।
स्वर्गीय आमा तीर्थकुमारीका श्रीमान तोयानाथ अधिकारीको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा स्थानीय समाजसेवी एलबहादुर गिरी, व्यवसायीहरु नेत्र नेपाल, केदार सम्शेर गिरीलगायतले आमाको महत्व बारे आ–आफ्नो धारणा राखेका थिए ।