झापा ।
नेपाल विद्यार्थी संघ झापाले सामुदायिक विद्यालयले कुनैपनि बहानामा विद्यार्थीहरुसँग शुल्क लिन नमिल्ने बताएको छ । पछिल्लो समय झापाका विभिन्न सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुसँग चर्को शुल्क लिने गरेको पाइएको जनाउदै विद्यार्थीलाई सहज रुपमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन नेविसंघले आग्रह गरेको थियो ।
नेविसंघ झापाका सभापति सन्जय निरौलाले नीजी विद्यालयहरुले पनि यसवर्ष मासिक शुल्क नबढाउन अनुरोध गरेका छन् । देश नै आर्थिक संकटमा परेको अवस्थामा निजी विद्यालयहरुलाई मासिक शुल्क नबढाई केही विगतको भन्दा केही प्रतिशत छुट दिन उनले अनुरोध गरे । त्यस्तै स्टशनरी व्यवसायीहरुलाई सम्बोधन गर्दै शैक्षिक पठनपाठनका सामग्रीहरुमा पनि विद्यार्थीहरुलाई केही प्रतिशत छुट दिइ सहज बनाउन सहयोग गर्न उनको आग्रहथियो । संघले विभिन्न विविध शुल्क हटाउन समेत ध्यानाकर्षण गरेको छ।
पछिल्लो समय झापाका केही सामुदायिक विद्यालयहरुले निःशुल्क रुपमा विद्यार्थीहरुलाई पठनपाठन गराईरहेका छन् भने केही विद्यालयले अंग्रेजी माध्यमको नाममा र शिक्षक व्यवस्थापन भन्दै विद्यार्थीहरुसँग हजारौँ रकम उठाएको तथ्य पनि बाहिरीएको छ । नेपाल सरकारको शिक्षा नीतिमानै सामुदायिक विद्यालयले माध्यमिक तहसम्म विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने विषय उल्लेख गरेकोले सम्बन्धित निकायले यसतर्फ ध्यान दिन जरुरी देखिन्छ ।