झापा ।
आज वैशाख कृष्ण औँसी नेपाली समाजमा आमाको मुख हेर्ने दिनको रूपमा मनाउने गरिन्छ । आमाले दुःख कष्ट खेपेर १० महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र बात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाउने गरिन्छ ।
छोराछोरीले आज बिहानै उठेर स्नान गरी आमालाई मनपर्ने खानेकुरा खुवाउने, लुगा फाटो जस्ता उपहार दिने र आशीर्वाद थाप्ने चलन छ।
आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गरिन्छ । नेपाली समाजमा मातृऋण अर्थात् दूधको भारा तिर्न साह्रै कठिन हुन्छ भन्ने जनविश्वास रहि आएको छ । आजको दिनलाई आमाको मुख हेर्ने औँसी समेत भनिने गरिन्छ ।
आज बिभिन्न स्थानमा माता तीर्थ मेला समेत लाग्ने गर्छ । आजको दिन टाढा–टाढा रहने छोराछोरीले आभालाई भेट्ने र धेरै टाढा हुनेले आमाको तस्बीर हेरेर आशीर्वाद लिने गरिन्छ ।