जलथल ।

जलथल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको  नौ कार्य समिति सदस्यका लागि भएको निर्वाचन सर्वसम्मत भएको छ । खानेपानीको बिधान अनुसार  वडा नम्बर ५ बाट भानु प्रसाईं, टिकाराम सुवेदी र कोपिला सिलवाल निर्वाचन घोषणा गरेका दिननै सर्वसम्मत भएका थिए भने वडा नम्बर ३ बाट सितादेवी बिष्ट पनि सर्वसम्मत भएकी थिइन् ।

वडा नम्बर ४ मा ४ जनामा ९ जनाको उम्मेद्बारी तथा ३ मा १ जनाको लागि २ जनाको उम्मेद्बारी परेपछि राजनैतिक भागबण्डा अनुसार एमाले, काङ्ग्रेस र राप्रपाले सहमति गरेका छ्न् । निर्वाचन नगरी १ महिना भित्र दाताबाट जग्गा खानेपानीको नाममा ल्याउने सहमति अनुसार पूर्व अध्यक्ष नवराज खरेलले समेत आफ्नो उम्मेद्बारी फिर्ता गरेको बताइएको छ ।

खानेपानीमा राजनैतिक भागबण्डा अनुसार एमालेबाट केदारप्रसाद उप्रेती, काङ्ग्रेसबाट कृष्ण प्रसाईं र राप्रपाबाट सावित्रा बारकोटी र जीवनकुमार अधिकारीलाई वडा नम्बर ४ बाट सर्वसम्मत गरिएको छ भने ३ बाट कमल ओलीलाई सर्वसम्मत गरिएको जनाईएको छ ।

बिधान अनुसार निर्वाचित सदस्यहरुबाटै अध्यक्ष लगायत अन्य पदाधिकारी चयन गरिने छ भने २ जना सदस्य, सल्लाहकार समिति र लेखा समिति समेत निर्माण गरिने जनाइएको छ । 

हल्दिवारी गाउँपालिका–३, ४ र ५ का स्थानीयलाई  शुद्ध खानेपानी खुवाउने उदेश्यले स्थापना भएको खानेपानीको नाममा आजको मितिसम्म जग्गाको स्वामित्व आएको छैन  । जलथल खानेपानीमा करिब २ हजार सदस्य रहेका छन भने १७ सय बढिले धारा जडान गरि शुद्ध खानेपानी खाइरहेको समितिले जनाएको छ ।

जलथल खानेपानी अन्तरगत करिब ६ करोड लगानी भइ सक्दा समेत दाताले दिएको जग्गा खानेपानीको नाममा आउन नसक्नु र करोडौं लगानी कुन हिसाबले गरियो जवाफ खानेपानी डिभिजन कार्यालय र स्थानीय सरकारले दिनु पर्छ कि पर्दैन ?