झापा । 

झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार बिभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिबादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मेचीनगर–१० का ५२ बर्षिय दिनानाथ बंशल, मेचीनगर–९ का ३८ बर्षिय साईला दाई भन्ने नरबहादुर कार्की र दमक–४ का ३१ बर्षिय सुवास भन्ने बुद्धराई सोरेन रहेका छन् । 

बंशल चेकअनादर मुद्दामा अदालतको मिति २०७८/१०/१२ गते फरार प्रतिवादी हुन् । उनलाई १० दिन कैदसजाय र एक हजार रुपैयाँ जरिवाना तोकिएको थियो । कार्की बालयौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी हुन् । उनलाई अदालतको फैसला २०४९/२/१६ गते तीन महिना कैद सजाय र २ हजार ५०० रुपैयाँ जरिवानासहित पीडितलाई ३० हजार रुपैयाँ क्षतिपूर्ति तोकिएको थियो । 

त्यस्तै सवारी ज्यान मुद्दाका सोरेनलाई अदालतको फैसला २०७८/६/१७ गते अनुसार एक महिना कैद सजाय र २ हजार रुपैयाँ जरिवाना ताृकिएको थियो । 

उनीहरु तीनैजनालाई फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो ।  अदालतको आदेशले तीनै जना प्रतिबादीलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।