बिर्तामोड । 

 साहित्य चौतारी झापाले चारजना प्राज्ञ सभा सदस्यलाई सम्मान गरेको छ । बिर्तामोडमा आयोजित समारोहका बीच साहित्य चौतारीले प्राज्ञ सभा सदस्यहरु मुनाराज शेर्मा, हरिप्रसाद पौडेल, डा. खेमराज खनाल र सुमित्रा वाङ्देल चेलीलाई सम्मान गरेको हो ।

साहित्यकार डाक्टर पून्यप्रसाद सिग्देलको प्रमुख आतिथ्यमाभएको समारोहका बीच उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । साहित्य चौतारीको मासिक सांगीतिक काव्य सभाको अवसर पारेर प्राज्ञ सभा सदस्यहरुलाई सम्मान गरिएको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

‘नयाँ वर्षको समेत अवसर पारेर झापाली प्राज्ञ सभा सदस्यलाई सम्मान गर्दा हामी धेरै उत्साहित भएका छौँ’, कार्यक्रममा संरक्षक श्रेष्ठले भने । सम्मान गरिएका प्राज्ञ साहित्य चौतारीका सम्पत्ति भएको संरक्षक श्रेष्ठको धारणा छ । संरक्षक श्रेष्ठले साहित्य चौतारीको कर्मथलोमा प्राज्ञ सदस्यहरुले हिजोका दिनमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको जनाएका छन् ।

साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा स्रष्टा सर्जकहरूले गीत, कविता र गजल प्रस्तुत गरेका छन् । कार्यक्रमको सञ्चालन साहित्य चौतारीका सहसचिव देवीचरण भण्डारीले गरेका थिए ।