बिर्तामोड।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि, पद्धति र नियमानुसार संगठन सञ्चालन गर्दै पार्टीका गतिविधिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा सम्पन्न कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिंहले जनताको विश्वासयोग्य संगठन बनाउन नीति, नियम र विधान बमोजिम पार्टी सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
संघीय सांसद समेत रहेका नेता सिंहले संघीयता कार्यान्वयनका लागि थुप्रै नीति, नियम र कानून बन्न बाँकी रहेको बताउँदै अब संसद र सरकारले नीति निर्माण गरी तीनै तहका सरकार स्वस्फूर्त रुपमा चल्ने वातावरण बनाउनु पर्नेमा जोड दिए। ‘संघीयता र संविधानको अक्षरशः कार्यान्वयन सबै दलको जिम्मेवारी हो’–नेता सिंहले ‘शिक्षा, प्रशासन लगायत दर्जनौ नियम–कानून बनाउन आवश्यक छ।’
नेपाली कांग्रेस सरकारमा जाँदै गर्दा जनचाहना बुझेर सोही अनुसार कार्ययोजना बनाई कार्यान्वयनमा जानुपर्ने बताउँदै नेता सिंहले परिवर्तनलाई संस्थागत गर्न समयानुकुल नीति आवश्यक रहेको धारणा राखे ।
उनले देशमा उत्पन्न आर्थिक मन्दी हटाउँदै ब्यवसायीले लिएको ऋणको ब्याज तिर्न नसक्ने अवस्थाको अन्त्यका लागि सरकार, बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त पहलबाट नीति निर्माण गरेर आगामी बजेटमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीहरुबाट उठेका जिज्ञाशाको जवाफ दिदै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं प्रदेश संसदीय दलका नेता उद्वव थापाले संविधान अनुसार नै प्रदेश–१ को नामाकरण गरिएको र यसमा ८२ जना सांसदले पक्षमा मतदान गरेको जानकारी दिए।
पहिचानवादीहरुलाई आन्दोलन शान्तिपूर्ण र जनताको मन जित्ने प्रकृतिको बनाउन सुझाव दिदै नेता थापाले पहिचानबादीको माग सम्बोधन गर्न संविधान बमोजिम नै कांग्रेस लचिलो हुने बताए। विगतका आन्दोलनहरु पनि वार्तामार्फत नै समाधान गरिएको स्मरण गर्दै नेता थापाले उछृङ्खल र जनविरोधी आन्दोलनले निकास नदिने धारणा राखेका थिए ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गरेका थिए। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, प्रदेश सांसद लख्खी गणेश, प्रदेश सदस्य मिरा खड्का, जिल्ला उपसभापति केशवराज पाण्डेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ओमकृष्ण विमली, दुर्योधन गुरुङ, पाण्डवलाल चौधरी, लिलाबहादुर कटुवाल, रुद्रप्रसाद चिमरिया, राजेन्द्र गौतम लगायतले केन्द्रीय सदस्य सिंहसँग सरकार र संगठनका विषयमा विभिन्न जिज्ञाशा राखेका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।