बिर्तामोड ।
ग्लोबल ओरियन्स नेपाल प्रालि कम्पनीले कुनै बिक्री कक्ष र वितरकबाट गल्ति कमजोरी भएको भए त्यस्ता बितरक र कम्पनीका बिक्री कक्षलाई कारवाही गर्ने जनाएको छ ।
केही दिनअघि केही सञ्चार माध्यममा कम्पनीका बिषयमा प्रकाशित समाचारले ध्यानाकर्षण भएको जनाउँदै बिहीवार (आज) बिर्तामोडमा कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरी त्यस बिषयमा कम्पनीले छानविन गर्ने र गलत भएको पाइए कारवाही गर्ने जनाएको हो ।
कम्पनीको कसैलाई ठगी गर्ने उदेश्य नरहेको बताउँदै कम्पनीका अध्यक्ष बसन्त पण्डितले यदि कुनै बितरक र बिक्री कक्षबाट त्यस्ता कार्य भएको भए छानविन गरी कानुनी कारवाही अगाडि बढाउने बताएका छन् । कम्पनीको बिक्री कक्ष र बितरकबाट पीडित बनेका ब्यक्ति सम्पर्कमा आए कम्पनीको नियमानुसार त्यस्ता ब्यक्तिलाई न्याय दिने अध्यक्ष पण्डितले बताए ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बालाजुमा मुख्य कार्यालय रहेको कम्पनीले नेपाल सरकारका सम्बन्धित निकायहरुबाट अनुमति लिएर सामानहरु बिक्री बितरण गरिरहेको दावी गरेको छ । पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष पण्डितले २०७७ असार २९ गते बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बमोजिम इजाजत पत्र प्राप्त गरेको बताए ।
अध्यक्ष पण्डितका अनुसार अहिलेसम्म ५० प्रकारका बिभिन्न अद्धितीय आहारपुरक बस्तुहरु, हर्बल कस्मेटिकहरु र दैनिक उपभोग्य समानहरु कम्पनीको ३० वटा बिक्री कक्षहरुबाट बिक्री वितरण भइरहेका छन् । ‘कम्पनीले ऐनले तोके अनुसार नै स्थानीय निकायमा सम्पूर्ण दर्ता प्रक्रिया पूरा गरेर बाणिज्य बिभागबाट अनुमती लिएर बिक्री कक्षहरु ठाउँ–ठाउँमा सञ्चालन गरेको छ’ अध्यक्ष पण्डितले भने ‘ती मध्ये बिर्तामोडको बिक्री कक्ष पनि एक हो ।’
प्रत्यक्ष विक्रि ऐनमा व्यवस्था भए वमोजिम ऐनको दफा १४ बमोजिम १८ बर्ष उमेर पुगेका कुनै पनि नेपाली नागरिकहरु विक्रि सम्झौता फर्म भरी वितरक बन्न सक्ने जनाइएको छ । वितरक बनीसकेपछि विक्रि अनुपातको आधारमा ऐनले नै व्यवस्था गरेको दफा १५ तथा नियमावलीको दफा १० तथा निर्देशिकाको दफा १० को उपदफा १ बमोजिम जतिसुकै तह भएपनि विक्रि मुल्यको अधिकतम ४२ प्रतिशत भन्दा बढी नहुने गरी कमिसन वा वानेस वा सेवा सुविधा वितरकहरुले प्राप्त गर्न सक्ने अध्यक्ष पण्डितले बताए ।
हाल कम्पनीमा २ हजार २ सय भन्दा वढि ब्यक्तिहरु वितरकको रुपमा काम गरिरहेका अध्यक्ष पण्डितले बताएका छन् ।