बिर्तामोड। 

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले ठाकुर समाज एवं नेपाल नाई संघमा आबद्ध नेपाली नागरिकको पेशागत एवं नागरिकता सम्बन्धी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल नाई संघ झापाको सातौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति थेवेले नागरिकता नहुँदा बर्षौंदेखि नेपालमा बसोबास गर्दै आएका नेपाली नागरिकले खेप्नु परेको समस्याबारे आफू जानकार रहेको बताए । उनले संसदले पारित गरिसकेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरी जन्मसिद्धका आधारमा नागरिकता पाउने अधिकार कार्यान्वयनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । 

कार्यक्रमका विशेष अतिथि तथा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले मजदुरदेखि उच्च वर्गका ब्यक्तिले पनि सैलुनमा पसेर कपाल काट्न सक्ने गरी दररेट कायम गरी सेवाग्राहीलाई अधिकतम सेवा दिन नाई संघलाई आग्रह गरे ।

अर्का विशेष अतिथि एवं नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी र नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले संगठनमा बल हुने बताउँदै पेशागत समस्या समाधानका लागि नाईहरुलाई एकजुट हुन आह्वान गरे ।

अधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला, झापा गाउँपालिका वडा नं–७ का वडाध्यक्ष सखिचन्द्र ठाकुर लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

रामबृज ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत राजकुमार ठाकुर र सञ्चालन नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।