झापा । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सल्लाहकार नरेश खरेलले पार्टी परित्याग गरेका छन् । पार्टी भित्र स्वेच्छाचारिता बढेको भन्दै खरेलसहित सोमवार(आज) बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी १० जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र समेत रहेका खरेल यसअघि राष्ट्रिय सभा सदस्यका रुपमा थिए । पार्टीका पूर्व पोलिट व्यूरो सदस्यको जिम्मेवारी समेत सम्मालि सकेका खरेलले नेकपा एमालेले नयाँ पुस्तालाई स्थान दिएको र पुराना कार्यकर्तालाई अपमान गर्न थालेकोले पार्टीमा रहन नसकेको बताए । उनले पार्टी मनोमानी ढंगले सञ्चालन भएको भन्दै आफू पार्टी परित्याग गर्न बाध्य भएको बताएका छन् ।

naresh kharel

‘पार्टी भित्र देखिएको गलत पद्धति, संस्कृति, कार्यशैली र नीतिका विरुद्ध पार्टीमा रहँदा अपमान र तिरस्कार सहनु परेको छ’ नेता खरेलले भने ‘पार्टीले इमान्दार कार्यकर्ताको आशा विपरित पार्टी नेतृत्वमा देखा परेको गुटवन्दी दम्भ र अहंकार तथा अन्तरद्वन्द्वले संसद विघटन हुँदै पार्टी तीन टुक्रामा विभाजित भयो ।’

नेता खरेलसहित नेकपा एमालेको विभिन्न जिम्वेवारीमा रहेका हिराप्रसाद पोखरेल, खिना राना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द साह, भीमप्रसाद लुईटेल, साजत आलम, आवलोदिन मियाले पार्टी परित्याको घोषणा गरेका छन् ।

सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर उनीहरुले पार्टी परित्यागका हुन् । कार्यक्रममा यसअघि एमाले परित्याग गरेका चन्द्रा श्रेष्ठ र पदम थापालगायतको उपस्थिति रहेको थियो ।