हल्दिबारी । 

झापा हल्दीबारी गाउँपालिकाका वडा नम्बर १, ३ र ४ ले यसवर्ष महिला सशक्तिकरण अन्तर्गत उदघोषण तथा माइन्युट लेखन सम्बन्धी पाँच तथा सात दिने तालिम सञ्चालन गरेका छन्। नेतृत्व क्षमता विकास सम्बन्धी यस प्रकारको तालिम वडा मार्फत पहिलो पटक सञ्चालन गरेका हुन् ।

वडा नम्बर १, ३, ४ को आर्थिक बर्ष २०७९÷०८० को योजना तथा कार्यक्रम अन्तरगत प्रत्येक वडाले ५०/५० हजार बजेटमा  टोल बिकास संस्थालाई पत्रचार गरी सहभागी माग गरिएको र वडा स्तरिय महिला समिति र आमा समुहबाट तथा बिद्यार्थीहरू समेतको सभागिता गराईएको थियो। १ र ४ मा यसअघिनै तालिम सम्पन्न भइसकेको छ भने वडा नम्बर ३ मा आइतवार सम्पन्न भएको हो । 

वडा समितिको बैठकको निर्णयले प्रशिक्षकको रुपमा हल्दीबारी गाउँपालिकाको संचार संयोजक देवीका अधिकारीलाई प्रशिक्षक छनोट गरी तालिम सञ्चालन गरेको हो ।यसअघि हल्दिबारी गाउँपालिकाले महिला सशक्तिकरण अन्तर्गत महिलाहरूको लागि लगातर ५ वर्षसम्म  शिलाई बुनाई तालिम मात्रै  बर्षेनी सञ्चालन गर्दै आएको थियो। 

कार्यक्रमले उद्घोषण गर्ने क्षमतामा बृद्वी गरेको, दैनिक जीवन उपयोगी कुरा सिक्ने काम भएको, उद्घोषण कसरी गर्ने, अतिथि सम्मान कसरी गर्ने भन्ने कुरा थाहा भएको तालिममा सहभागी पवन गिरीले बताए। अर्का प्रशिक्षार्थी दुधकन्या टोल बिकास संस्थाकी अध्यक्ष रन्जु मेचे भनिन् ‘सिक्ने र सिकाउने क्रममा रहेका हामीलाई यस्तो कार्यक्रमले थप उर्जा मिलेको छ’ उनले भनिन् ‘बलिरहेको दियोमा तेल थप्ने काम भएको छ।’ माईक समाउन डराउने हामीलाई कार्यक्रम शुरूवात, प्रस्तुति सम्बोधन, सम्मान र माइन्यूट कसरी लेखिन्छ भन्ने कुराको ज्ञान भएको उनले बताइन् । तालिमले दैनिक जीवन र व्यवहारमा ठुलो परिवर्तन भएको तथा मद्दत मिलेको उनको भनाई छ।