सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले असिनापानीसहित आएको हावाहुरीबाट पीडित बनेका नगरका स्थानीयहरुलाई क्षतिपुर्ति दिने भएको छ । क्षतिको यकिन विवरणका लागि वडागत रुपमा प्राविधिक परिचालन तथा सरोकारवाला निकायहरुको प्रतिवेदनका आधारमा नगरले क्षतिपूर्ति दिने भएको हो ।
गत चैत १७ गते साँझ आएको असिनापानीसहितको हावाहुरी कनकाई नगरपालिकाका विभिन्न वडाहरुको घर तथा कृषि बालीमा ठूलो क्षति पुर्याएको थियो ।
नगरले वडागत रुपमा खटाईएका प्राविधिक तथा सरोकारवाला निकायहरुको जग्गा नाँपजाँच प्रतिवेदनका आधारमा क्षति भएको मकै खेतीका लागि उन्नत जातको धानको विउ उपलब्ध गराउने भएको छ । वडागत रुपमा खटाईएका प्राविधिक तथा सरोकारवाला निकायहरुको प्रतिवेदन र वडाले आवश्यकता र क्षति हेरी बढिमा १० हजार वा सो बराबरको जस्तापात विधि अनुसार खरिद गरी उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।
प्राविधिक प्रतिवेदनका आधारमा क्षति भएका तरकारी बालीहरुको हकमा आगामी कार्यपालिका बैठक बसी क्षतिपूर्ति निर्धारण गर्ने र कनकाई नगरपालिकाका प्राविधिक, सुरक्षा निकाय, रेडक्रसले तयार पारेको प्रतिवेदन बमोजिम क्षतिपूर्ति मागका लागि संघीय सरकार तथा कोशी प्रदेश सरकारलाई तुरुन्त आवश्यक पहल गर्ने नगरले निर्णय गरेको नगरका कर्मचारी बिजय पाठकले जानकारी दिए ।