बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले व्यवसायिक मत्स्य पालनमा प्रत्येक वर्ष विभिन्न प्रकारका सहयोग उपलव्ध गराउँदै आएको छ ।पशुपंछि तथा मत्स्य विकास शाखाको तर्फबाट लागत साझेदारीमा सहयोग उपलव्ध गराउँदै आएको शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।
बिर्तामोड नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका ४ वटा फर्महरुले निरन्तर रुपमा सहयोग प्राप्त गर्दै आएको जनाइएको छ । उनीहरुले आवश्यकताका आधारमा माग गरे अनुसार साझेदारीमा सहयोग प्राप्त गरेका हुन् ।
नगरपालिकाले व्यवासयिक रुपमा माछा पालन गर्न शुरु गरेका कृषकहरुलाई समेत सहयोग उपलव्ध गराउँछ । क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत सहयोग उपलव्ध गराउने गरेको हो ।
बिर्तामोड ८ का चिरञ्जिबी कार्कीले माछा पालन व्यवसाय शुरु गर्नका लागि पोखरी खन्दै छन् । पोखरीको बिहीबार नगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहाल, इन्जिनियर डिल्लीराम गौतम लगायतको टोलीले अनुगमन गरेको छ । कार्कीले अहिले १४ कट्ठा जमिनमा पोखरी खनिसकेकोे पाइएको छ ।
नगरपालिकाले साना व्यवसायी माछा पकेट विकास कार्यक्रम अन्र्तगत कृषकहरुलाई सहयोग उपलव्ध गराउँदै आएको हो । नगरपालिकाले नयाँ पोखरी खन्ने कृषकहरुको लागि प्रति कट्ठा दश हजार रुपैयाँ उपलब्ध गराउँदै आएको शाखा प्रमुख दाहालले जानकारी दिइन् । यस्तै भुरामा ५० प्रतिशत र बोरीङ्गमा ७५ प्रतिशत अनुदान दिइने गरेको नगरपालिकाले जनाएको छ ।