बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाको आयोजनामा लेखा तथा संस्था व्यवस्थापन तालिम शुरु भएको छ । नगरपालिका भित्र रहेका सामाजिक संघ संस्थाहरुका लागि तालिमको आयोजना गरीएको नगरका सामाजिक विकास तथा सहकारी अधिकृत डिल्ली दाहालले जानकारी दिए।

 बिर्ताबजारमा बुधवारदेखि शुरु भएको तालिमको उद्घाटन नगर प्रमुख पवित्रा महतारा प्रसाईले गरेकी हुन् । उद्घाटन गर्दै नगर प्रमुख प्रसाईले विषयगत ज्ञान बढाउनु पर्नेमा जोड दिइन् । सहभागीलाई तालिममा समर्पित भएर सिक्न आग्रह गर्दै उनले आ–आफ्नो ठाउँबाट सबैले चेतना स्तरलाई पनि बढाएर लैजानु पर्ने बताइन् । 

चैत्र २७ गतेसम्म सञ्चालन हुने यस तालिममा बिर्तामोड नगरपालिकामा दर्ता तथा सूचिकृत भएका सामाजिक संघ संस्थाका ३० जना प्रतिनिधि सहभागी छन् । सामुदायिक अध्ययन केन्द्रको संयोजनमा भएको तालिममा नगरका सामाजिक विकास तथा सहकारी अधिकृत डिल्ली दाहाल, प्राध्यापक तथा गैर सरकारी संस्था महासंघका झापा सचिव विजय तिम्सिना लगायतले प्रशिक्षण दिदैछन् ।

सामाजिक विकास शाखाकी संयोजक यामुना आचार्यको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, विराट बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष मोहन शिवाकोटी, कार्यकारी प्रमुख रुद्र सिटौला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारीका सञ्चालक समिति सदस्य अर्जुन पाठकले गरेका थिए ।