बिर्तामोड ।
झापाको कनकाई नगरपालिका १ र ७ मा पर्ने श्री दुर्गा भगवती मनसादेबी मन्दिरमा आयोजना भएको श्रीमद् देबी भागवत महापुराण नवाह ज्ञान महायज्ञको हिसाव सार्वजनिक भएको छ ।
महायज्ञ मुल आयोजक समितिले मंगलबार (आज) पत्रकार भेटघाट गरी महायज्ञको आयब्यय सार्वजनिक गरेको हो । चैत्र ८ गतेदेखि १६ गतेसम्म आयोजना भएको महायज्ञबाट २१ लाख ४९ हजार ७३ रुपैयाँ आम्दानी भएको आर्थिक समितिका संयोजक मनोजकुमार पोखरेलले जानकारी दिए । उक्त आम्दानी मध्ये ७ लाख ६५ हजार ९२५ रुपैयाँ खर्च भएको पोखरेल बताए ।
त्यस्तै ९ लाख ३५ हजार ८ सय ५० रुपैयाँ बैकमा जम्मा गरेको र १५ हजार २० रुपैयाँ नगद समितिसँग रहेको साथै ४ लाख ३२ हजार ३७८ रुपैयाँ उठ्न बाँकी रहेको उनले जानकारी दिए ।

महायज्ञ आयोजक मुल समितिकी संयोजक सरला दाहाल पोखरेलको अध्यक्षतामा भएको हिसाव सार्वजनिक कार्यक्रममा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलालले महायज्ञबाट सोचे भन्दा बढी सफलता हासिल भएको बताए । कार्यक्रमको सञ्चालन मुल आयोजक समितिका सचिब राम निरौलाले गरेका थिए । सोही कार्यक्रमकाबिच महायज्ञ आयोजक समितिले मन्दिर समितिलाई माइन्यूट समेत हस्तान्तरण गरेको थियो ।
मन्दिरमा सामुदायिक भवन निर्माणका लागि स्व. गणेश पोखरेल, स्व.कुमुनिदी पोखरेल र मोहनराज पोखरेलका परिवारले २ लाख रुपैयाँका दरले सहयोग गर्ने बचनबद्धता दिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष निरौलालले जानकारी दिए । उनका अनुसार ८८ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको सामुदायिक भवन निर्माण समितिको संयोजकमा कुमारमणि पोखरेल रहेका छन् । दुईतले भवन निर्माण हुने र माथिल्लो तलमा ६ वटा कोठा हुने साथै भुईतलामा हल हुने उनले जानकारी दिए ।


















