• चन्द्र बस्नेत

कनकाई । 

गत शुक्रबार साँझ  आएको हावापानी र असिनाको कारण झापाको कनकाई नगरपालिकाका अधिकांश वडाहरूमा ठुलो मात्रामा क्षति पुर्याएको किसानको घरखेतमा नगरप्रमुख पोख्रेल नेतृत्वको टोली  पुगेसगै किसानमा  आशाको किरण छाएको छ ।

शनिबार वडा न ८ र ९, वडा न १, ७ र  २ का प्रत्येक पीडित किसानका  घर खेतमा नै पुगेर  नगर प्रमुख पोख्रेल, कृषि शाखाका प्रमुख यदुकुमार उप्रेती, कृषि ज्ञान केन्द्र झापाका प्रमुख  सागर बिष्ट, प्रत्येक वडाका अध्यक्ष सहितका जनप्रतिनिधि, टोल बिकास सस्थाका प्रतिनिधि लगायतको टोलिले पीडित किसानहरूको घर खेतीमा पुगेर विवरण संकलन गरिरदा हरेक किसानमा खुशीको आशा पलाएको देख्न सकिन्थ्यो । 

सोही क्रममा नगर प्रमुख पोख्रेलले घर, किचन र ग्वालीको छानोमा पुगेको क्षतिको  अवस्था अनुगमन गरी अति प्रभावित र विपन्न  किसानहरुका लागि तत्काल  त्रिपाल   उपलब्ध गराउने र अबको केहि दिनमा नै  नगरको तर्फबाट किसानहरुका लागि धानको बीउ निःशुल्क उपलब्ध गराउने  मंगलबारदेखि  नगरका सबै वडामा अमिनी सहितको टोलीबाट कृषिमा भएको  क्षतिको विवरण संकलन गरि प्रदेश र संघीय सरकारलाई  प्राकृतिक प्रकोपका कारण भएको क्षतिको जानकारी गराई जतिसक्दो पीडितका लागि राहातका लागि  पहल गर्ने  नगर प्रमुख पोख्रेलले प्रतिद्धता जनाएका छन् । असिना पानीसहित आएको हावाहुरीले कनकाईको वडा नं. ८ ,९ , १ र ७ मा  बढी क्षति भएको छ । 

त्यसैगरी वडा नं.  ६ र ४ गरि करिव १ सय ५० बिघा भन्दा  बढी क्षेत्रफलमा लगाइएको मकैबालीका साथै तरकारी बालीमा  पूर्ण क्षति पुगेको छ । त्यस्तै २ सय भन्दा धेरै घर धुरीको टिनको छाना छिद्र हुने गरि असिनाले क्षति पुर्याएको छ । त्यसमा हावाहुरीले ५० भन्दा धेरै घरको छानो  उडाएको र  अतिविपन्न लक्षित वर्गको लागि सहयोग स्वरुप तत्कालका लागि त्रिपाल उपलब्ध गराउने र अरु क्षतिको विवरण केन्द्र सरकारमा जानकारी गराई सहयोगको लागि पहल गर्ने स्थलगत निरीक्षणका क्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

k2

हावापानी र असिनाबाट वडा नम्बर ८ को सितल चोक, मनकामना टोल मिलन टोल, पारिजात टोल, घाग्रा टोल, त्रिवेणी टोल र रमाइलो टोलमा पनि धेरै क्षति भएको छ । कनकाई ९ को किष्टझार क्षेत्र, ७ नम्बर वडाको कालिमुडा, पाथिभरा टोल, लुकुनी खाडी त्यस्तै वडा न १ का १६ टोल मध्ये १२ बढी टोलका अधिकांश घर किचन र ग्वालीमा  विनाशकारी प्रकोपले  क्षती पुर्याएको छ ।

 हावापानीका कारण कनकाई नगरका विभिन्न स्थानमा विद्युत आपूर्ति आज पनि बन्द नै  छ । विद्युत सुचारु गर्नको लागि नेपाल विद्युत प्राधिकरणले मर्मतको काम जारी राखेको छ । लक्ष्मीपुर घैलाडुब्बा सडक खण्ड अन्तरगत खाडी बस्तीमा दर्जनौँ विद्युत पोलहरु सडकमै ढलेको देख्न सकिन्छ । त्यसैगरी घाग्रा टोलमा पनि दर्जनौं विद्युतका पोल लडेका कारण विद्युत तारहरू यत्रतत्र छरिएको छ । अहिले यो समाचार  तयार पार्दा सम्म सो क्षेत्रमा विद्युत, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध भएको छ ।  कनकाई ७ कालिनाग मार्गमा रहेको भैरव कृषि फर्मको ३ बिघा क्षेत्रफलमा फसल तयार भएको ३० हजार केप्सीकनको बिरुवामा पूर्ण क्षति भएको छ ।

धेरैजसो विपन्न वर्गको घरमा क्षति पुगेको छ । त्यस्तै वडा न १ का  २ दर्जन जति  पुराना जस्ता पाताको छानाहरु कामै नदिने गरि प्वाल परेको वडाध्यक्ष सुुशिलकुमार पोख्रेलले जानकारी दिए । 

कतिपय घरको कैँची बटम र बाँसको बलोहरु  समेत भाँचिएको छ । हावाले ४ मिटर दूरीसम्म छानाको टिनहरु उडाएको अवस्था छ । कनकाई नगरको मध्य क्षेत्रमा भएको क्षति कुनै सामान्य क्षति होइन, पूर्ण विवरण संकलन भइसकेको छैन, प्रारम्भिक अनुमान गर्दा ८ नं. वडाको दक्षिणी भूभाग, ९ नं. वडा पुरै, ६ नंं वडा आधा, ३ नं. सबै, ७ नं. र १ न मा रहेका  विभिन्न कुखुरा फर्मका कुखुरा र चल्लामरेका छन् ।  वडा न १ मा शिवलाल आचार्यले पालेका १ सय ५०  कुखुरा र ७ बोरा दाना नस्ट भएको वडा न १ का वडा सदस्यीय हरि राईले जानकारी दिए । 

यता वडा न ८ र ९ मा पीडित १ सय ९ परिवारलाई राहत स्वरुप रेडक्रस उप शाखा घैलाडुब्बाको समन्वय तथा झापा जिल्ला रेडक्रस  शाखाको सहयोगमा वडा न ९ का ६० घर परिवार वडा न ८ का ४९ घर परिवारमा आ–आफ्नो वडामा नै त्रिपाल वितरण गरिएको वडा न ८ का वडाध्यक्ष लीलाबहादुर कटुवालले जानकारी दिए । अब अन्य वडाका प्रभावित परिवारलाई  पनि भोलि र पर्सी भित्रमा त्रिपाल उपलब्ध गराउने नगरप्रमुख पोख्रेलले जानकारी दिए ।