हल्दीबारी । 

जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपालले झापा हल्दिबारी वडा नं. ३ की सामाजिक अभियन्ता ईश्वरा तिवारी र खड्ग तिवारीलाई सम्मान गरेको छ । 

तिवारी दम्पतीले १० लाख रुपैयाँ मूल्य बराबरको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि प्रदान गरका थिए । तिवारी दम्पत्तिले सो जग्गा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाललाई प्रदान गरेका हुन्। जग्गादातालाई प्रतिष्ठानले शनिवार एक कार्यक्रमबीच हल्दिबारीको ढडुवामा सम्मान गरेको हो । 

दाता परिवारलाई हल्दिबारी–३ का वडाध्यक्ष बिष्णुप्रसाद ओली, अभियानका झापा अध्यक्ष शंकर भट्टराई र विश्व हिन्दू परिषद् झापाका अध्यक्ष होमनाथ ढुंगेलले सम्मान गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष भट्टराईले प्रदेशमै पहिलोपल्ट बाल संस्कार केन्द्रका लागि जग्गा प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन् । प्रतिष्ठानले झापाका २५ स्थानमा हिन्दू धर्म, संस्कार र नैतिक शिक्षा प्रदान गर्ने बाल संस्कार केन्द्र सञ्चालन गर्दै आएको भट्टराईले जानकारी दिए ।

अभियन्त पं. सोमनाथ सुबेदीले बाल संस्कार केन्द्र ६४ जिल्लामा सञ्चालन भइरहेको बताए । समाजसेवी सत्येन्द्र कर्णले स्वागत गरेको कार्यक्रममा पिताम्बर बराल, शिवप्रसाद दाहाल, भरत मैनाली, खिनामाया खनाल, मित्रलाल ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

बाल संस्कार केन्द्रले ५ बर्षदेखि माथि १४ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई पन्चमुखि शिक्षाको अवधारणा अन्तर्गत कुनैपनि सामाजिक भेदभाव नराखी  नैतिक, स्वास्थ, कृषि, स्वावलम्ब, धर्म संस्कृति, राष्ट्र प्रेम, समाज कल्याण, असल चरित्र निर्माण सम्बन्धि शिक्षा प्रदान गर्दै आएको बताइएको छ ।