काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मूलभूत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणले गति लिने बताएका छन्।देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको भएपनि श्रीलंका बन्ने स्थितिमा नरहेको प्रधानमन्त्री दाहालले दावी गरेका छन्।
उनले तेस्रो कार्यकालका रुपमा प्रधानमन्त्री भएर लगभग १ सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताए।
शुक्रबार (आज) रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको स्थितिमा गएको ३ महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको बताए।
उनले ३ महिनामा रेमिट्यान्स, राजश्व संकलनमा गुणात्मक सुधार भएको दाबी गरे। उनले पछिल्लो ३ महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताए।